झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा भएको दुर्घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।
असोज ११ र १२ मा परेको अविरल वर्षासँगै झ्याप्लेमा खसेको पहिरोमा पुरिएर दुईवटा माइक्रो र एउटा बसमा सवार ३५ जनाको मृत्यु भएको थियो । सो घट्नामा धादिङका तत्कालीन एसपी गौतम केसीले लापरबाहीपूर्ण भूमिका खेलेको आकलन छ । गृह मन्त्रालयले धादिङका तत्कालीन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र एसपी केसीलाई फिर्ता बोलाइसकेको छ ।
दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गरेको छ । समितिले घटनाबारे छानबिन गरिरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ–मुग्लिन हुँदै नागढुंगासम्म सवारी चलाउन रोक लगाउन सूचना जारी गरेको र सो सूचनालाई प्रहरीले बेवास्ता गर्दा दुर्घटना भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् । प्रहरी वरिष्ठ उपरीक्षक शाह नेतृत्वको समितिले आइतबार धादिङमा गएर घटनास्थलको स्थलगत अवलोकन र प्रहरी अधिकृतहरूसँग सोधपुछ गरेको छ ।
एसपी केसीको लापरबाहीपूर्ण व्यवहारका कारण गोरखा र चितवनबाट आएका सवारीसाधन प्रहरीले नरोक्दा दुर्घटना भएको छानबिनको प्रारम्भिक निष्कर्ष छ । दुर्घटनामा परेर २५ जना पुरुष ९ जना महिला र १ जना बालिकाले ज्यान गुमाएका थिए । उनीहरू सबैको सनाखत भइसकेको छ ।
गोरखाबाट काठमाडौँ आउँदै गरेको ना. ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा सवार यात्रु पुरिएका हुन् । प्रमुख जिल्ला अधिकारीले पनि समन्वय नगरेको आरोप छ । कारबाही स्वरुप प्रजिअलाई फिर्ता बोलाइएको र छानबिन रिपोर्टपछि एसपीलाई थप कारबाही गरिने गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
दुर्घटनापछि धादिङको प्रमुख जिल्ला अधिकारीमा सुमन घिमिरे र जिल्ला प्रहरी प्रमुखमा दीपेन्द्र शाहीलाई जिम्मेवार दिइएको छ ।
मनसुनजन्य विपद्मा प्रभावकारी भूमिका खेल्न नसकेको आरोपमा गृह मन्त्रालयले काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई पनि मन्त्रालय तानेको थियो । काभ्रेमा उमेश ढकाललाई प्रजिअको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण