ह्युमपाइपले जोडियो तातोपानी नाका
सिन्धुपाल्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।
तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन खोजिए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले कठिनाइ भएको थियो । त्यसैले गत शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए ।
उनका अनुसार ह्युमपाइप राखेर साना सवारी आवतजावत गराए पनि ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ ।
उनका अनुसार लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी छ ।
लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको भोटेकोशी गाउँपालिका–३ का अध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।
भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।
पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानीयले आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।
तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण