राष्ट्रियसभा अध्यक्ष दाहालको आइपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट
जेनेभा । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका सङ्घका अध्यक्ष डा.तुलिया अक्सन (Dr. Tulia Ackson)एवं महासचिव मार्टिन चुङगोङ (Martin Chungong) सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपालको सङ्घीय संसद र अन्तर व्यवस्थापिका सङ्घसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।
अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका सङ्घसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।
संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला,अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले सङ्घीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरू जनप्रतिनिधिको रूपमा सहभागी रहेको बताए ।
लोकतन्त्रका लागि, सबैका लागि भन्ने आदर्शमा अडिग रहँदै अन्तर व्यवस्थापिका सङ्घले स्थापनाकाल देखि नै लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक संस्था प्रवर्द्धनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ।
जनप्रतिनिधिमार्फत विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरू अभिव्यक्त गर्न सकिने साझा मञ्चको रूपमा अन्तर व्यवस्थापिका सङ्घलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्त्व विश्वमा झनै बढ्दै गइरहेको बताए ।
सो अवसरमा अन्तर व्यवस्थापिका सङ्घका अध्यक्ष डा।तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरिन् । नेपालको सङ्घीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।
आइपीयूको सचिवालयलाई अझै व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण