बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेर गएका फूलको सदुपयोग

तिहारमा प्रयोग भएको फूल सदुपयोग गर्दै धूप उत्पादन (भिडियोसहित)

बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । भर्खरै तिहार सकिएको छ । तिहारमा देशभर करिब ४० लाख सयपत्री, गोदावरी र मखमली फूलका माला प्रयोग भएका छन् । तिहारमा प्रयोग भएका सयपत्री, गोदावरी तथा मखमली फूल फोहोरको रूपमा फाल्नुभन्दा तिनलाई सदुपयोग गरेर विभिन्न सामग्री बनाउन सकिन्छ । तिनैमध्ये एक सामग्री हो– धूप ।

विगत ६ वर्षदेखि काठमाडौँको विशालनगरस्थित ‘फूल प्रसाद’ कम्पनीले विभिन्न फूलबाट ‘धूप’ बनाउँदै आएको छ ।

462562377_860872072531247_8507170041105589047_n

मंगलबार सोही कम्पनीमा फूलको माला लिएर धूप लिन पुगेका सुलिल कुमार खेम्का भेटिए । बत्तीसपुतलीबाट उनी तिहारमा घर सजाउनका लागि प्रयोग भएको करिब ७० वटा सयपत्री फूलको माला लिएर फूलबाटै बनेको ‘धूप’ लिन पुगेका थिए । ‘उहाँहरूले खेर गएको फूल प्रयोग गरी धूप बनाउँदै हुनुहुँदो रहेछ,’ उनले भने, ‘यो एकदमै राम्रो काम हो, मैलै सामाजिक सञ्जालबाट जानकारी पाएर आएको हो ।’

उनीजस्तै काठमाडौँको नयाँ बजारबाट फूलको माला लिएर धूप लिन पुगेका थिए प्रवल प्रधान । ‘फूल खेर फाल्नुभन्दा पुनः प्रयोग हुने भए किन नदिने भनेर फूलको माला लिएर आएको छु,’ उनले भने ।

462559496_541403018592544_757670741945867976_n

उद्यमी तथा ‘फूल प्रसाद’का संस्थापक सुष्मा शर्माले विगत ६ वर्षदेखि काठमाडौँका मन्दिरमा चढाएका फूलबाट पुनः मन्दिरमै बाल्न मिल्ने धूप बनाउँदै आएकी छन् । दसैँ तथा तिहारमा घर सजावट तथा पूजा गरेका फूलहरू सङ्कलन गरेको उनी सुनाउँछिन् । ‘हामीले सन् २०१८ देखि फूलबाट विभिन्न थरीका धूप बनाउँदै आएका छौँ,’ उनले भनिन् ‘यो तिहारमा तपाईंहरूले घर सजाउन, पूजा गर्न प्रयोग गर्नुभएका फूल हामीलाई दिनुस्, हामी तपाईंलाई फूलबाट बनेको धूप दिन्छौँ ।’ उनले फूलबाट करिब १२ थरी धूप बनाउँदै आएको बताइन् ।

फूलबाट सौन्दर्य सामग्री, तेल लगायत बनाउन सकिन्छ । तर नेपालमा त्यस्ता प्रविधि नभएकाले धूपमात्रै बनाइने फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) का पूर्वअध्यक्ष मीनबहादुर तामाङले बताए ।

462552752_1637900780102138_7294120860326617311_n

नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार फूलबाट सौन्दर्य सामग्री, तेल, कुखुराको दाना तयार गर्न सकिन्छ । तर नेपालमा त्यस्ता सामग्री बनाउने प्रविधि नभएकाले बनाउन नसकिएको उनको भनाइ छ । ‘थाइल्याण्डका एक जना विज्ञले नबिकेका फूलहरूबाट रङ, कुखुराको दाना बनाउन सकिन्छ भनेका थिए,’ उनले भने, ‘तर नेपालमा यो प्रविधि सुरु भइसकेको छैन ।’

बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक सुधिर श्रेष्ठले खेर गएको फूल प्रयोग गरेर बालीमा लाग्ने निमाटोड रोग व्यवस्थापन गर्न सकिने उल्लेख गरे । निमाटोड बोटबिरुवामा लाग्ने एक किसिमको सुक्ष्म परजीवी जुका हो । यसले तरकारी बालीको जरामा गिर्खा जस्तै विकृति पैदा गर्दछ र बालीलाई क्षति पुर्‍याउँछ ।

सयपत्री फूलको बोट र फूल सुकाएर धुलो बनाएर माटोमा हाल्दा यो रोग नियन्त्रण गर्न सकिने श्रेष्ठ बताउँछन् । ‘बालीमा लाग्ने निमाटोड भन्ने जुका हुन्छ, त्यसलाई नियन्त्रण गर्न फूल प्रयोग गर्न सक्छौँ,’ उनले भने ।

462555586_872751338250766_1889860291053166936_n

श्रेष्ठका अनुसार फूलको आकार नबिगारीकन सुकाएमा पछि गएर सजावटका लागि प्रयोग गर्न सकिन्छ । यस्तै, स्थानीय फूलहरू बीउको रूपमा राख्न सकिने उनले बताए । ‘कतिपय लोकल भेराइटीहरू बीउका लागि पनि प्रयोग गर्न सक्छौँ,’ उनले भने, ‘जस्तो कि मखमली फूलको माला किसानले अर्को वर्ष बीउको रूपमा प्रयोग गर्छन्, राम्रोसँग पाकेको फूल सुकाएर राखेमा अर्को वर्ष बीउका रूपमा प्रयोग गर्न सकिन्छ ।’

स्वदेशी फूलबाट मनाइयो तिहार

यो वर्षको तिहार स्वदेशी फूलबाट मनाइएको व्यवासायीले बताएका छन् । देशभर तिहारमा करिब ४० करोड रुपैयाँको स्वदेशी फूलमालाको कारोबार भएको फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का पूर्वअध्यक्ष तामाङले बताए ।

‘३५ लाख सयपत्री मालाको कारोबार भएको छ,’ उनले भने, ‘स्वदेशी फूलमालामा मात्रै तिहार मनाइएको छ । थोरै अभाव भयो तर ५ लाख गोदावरी, मखमली फूलको माला खपत भयो ।’

तामाङले फूलमालाको मूल्य २० देखि २५ प्रतिशत वृद्धि भएको बताए । तामाङले स्वदेशी फूलले बजारको माग पूरा गर्न सफल भएको जानकारी दिए । उनले यस वर्ष भारतबाट माला नआउँदा स्वदेशी उत्पादनको प्रयोग बढेको उल्लेख गरे । ‘यसले गर्दा किसानले उचित मूल्य पाएका छन् र आगामी वर्ष उत्पादन बढाउन थप प्रोत्साहन मिलेको छ,’ उनले भने ।

नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष तिमिल्सिनाले नेपाली फूलको राम्रो कारोबार भएको बताए । ‘यसपाली नेपाली फूलले राम्रो बजार पायो,’ उनले भने, ‘पालिकाहरूले पनि भारतीय फूल बेच्न नपाइने भनेर साथ दिए ।’

462550521_550120917747341_1827352192739125555_n

पुष्प व्यवसाय फस्टाउँदै

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालित छ । १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू यो व्यवसायमा संलग्न छन् । यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

462572477_538800155559000_1679899191702001410_n

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी अनुमानित ५१ हजार ५०० भन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा कोभिड महामारीका कारण कारोबारमा कमी आइ जम्मा १ अर्ब ६३ करोड रुपैयाँमा कारोबार खुम्चिएको थियो । आर्थिक वर्ष २०७८/०८९ मा कोभिडको असर केही कम हुँदा पुष्प व्यवसायको वार्षिक कारोबारमा केही वृद्धि भएको थियो ।

गत आथिक वर्ष (०७९/८०) मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भइ ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया