कोशी प्रदेशका पूर्वमन्त्रीसँगै जापान जानेहरूको बयान, ‘प्रतिव्यक्ति १० लाख बुझाएका थियौँ’
काठमाडौँ । नक्कली कागजात बनाएर कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।
कात्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।
उनीहरु विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार उनीहरुले प्रारम्भिक बयानमा भनेका छन्, ‘जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख बुझाएका थियौँ ।’
धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई १० लाख र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनारलाई दुई जनाले २० लाख नगद बुझाएको उनीहरुले प्रहरीलाई बताएका छन् । जापानबाट फिर्ता भएका शेर्पाले खोटाङस्थित ऐँशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले कोसीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाएको भेटिएको छ ।
जापान पठाउने ‘गिरोह’ ले नै फर्जी कागजात बनाएर उनीहरू उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘गिरोहका सदस्यले विमानस्थलमा कञ्चन देवकोटालाई ३ वटा परिचयपत्र दिएको देखिन्छ ।’ देवकोटाले दावा शेर्पा र जनक राईलाई परिचयपत्र दिएका हुन् ।
हङकङमा पूर्वमन्त्रीसँग परिचय
जापान उडेपछि हङकङमा ट्रान्जिट थियो । ट्रान्जिटमा उनीहरूले पूर्वमन्त्री अधिकारीसँग भेटेर भने, ‘हामी पनि हजुरकै टोलीका हौँ ।’ फर्जी कागजात लिएर उनीहरू आफ्नो भ्रमण टोलीमा आएको पूर्वमन्त्री अधिकारीले हङकङ पुगेर थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अहिलेसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । कागजात तयार गर्ने र जापानमा लगेर छाड्ने योजनामा मन्त्रीको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सो गिरोहमा संलग्न २ जना फरार छन् । डिपोर्ट भएर आएका र पठाउने काममा संलग्न ६ जना प्रहरीको हिरासतमा छन् ।
फरार दुई जनालाई पक्राउ गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले पूर्वमन्त्री अधिकारीलाई अनुसन्धानको दायरामा ल्याएको छैन । गिरोहका सदस्यले जापान हिँडेका ३ जनाको मोबाइलमा मन्त्रीको फोटो पठाएर ‘उहाँसँगै टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रममा जानु’ भनेर म्यासेज गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘३ जनाको मोबाइलमा गिरोहका सदस्यले पूर्व मन्त्रीको फोटो पठाएको देखिन्छ ।’
जापानको अध्यागमनले उनीहरूबारे शङ्का लागेर फिर्ता डिपोर्ट गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटना बाहिरिएपछि अधिकारीले राजीनामा दिएका थिए । तर, उनी अनुसन्धानको दायरामा आएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण