मन्त्री नै जोडिएको मानव तस्करीको घटनामा प्रहरीले थाल्यो अनुसन्धान, ६ जना पक्राउ
काठमाडौँ । कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाने क्रममा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको छ । सो आरोप लागेपछि बुधबारमात्रै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
अधिकारीले नक्कली कागजात बाहकलाई सँगै लिएर जापान गएको खुलेको छ । अहिले प्रहरीले अधिकारीसँगै जापान गएका ३ जना सहित जम्मा ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
मन्त्रीसँगै जापान जानेहरूमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कात्तिक १४ मा मन्त्री सहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा ओर्लिएपछि ३ जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगायो । तर, अधिकारी भने विमानस्थलबाट सहजै बाहिरिएका थिए ।
जापानबाट डिपोर्ट भएर आएकाहरूको बयानको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर छन् । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मुद्दा चलाउन पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘त्यसबारे थप उपत्यका अपराध अनुसन्धान कार्यालयमा नै बुझ्नुपर्ला ।’
जापानबाट डिपोर्ट भएर आएका दावा शेर्पाको साथबाट प्रहरीले खोटाङस्थित ऐँशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बरामद गरेको छ । कञ्चन देवकोटा र जनक राईको साथमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र प्रहरीले बरामद गरेको छ ।
सो परिचयपत्रको आधिकारिकताबारे आन्तरिक मामिला मन्त्रालय र ऐँशेलुखर्क गाउँपालिकामा पत्राचार गरिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
जापानबाट डिपोर्ट भएकाहरूले अन्य ३ जनाले कागजात बनाइदिएको प्रहरीसँग बताएका छन् । आरोपीहरूको बयानका आधारमा अधिकारी पनि अनुसन्धानको दायरमा आउन सक्छन् । अनुसन्धानमा संलग्न अधिकारीहरू भन्छन्, ‘कागजात बनाउने काममा संलग्न देखिएमा पनि मुद्दामा प्रतिवादी बन्न सक्छन् ।’
काठमाडौँ प्रहरीले अहिले लिखतसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अधिकारीसँगै अरू ३ जनालाई सांस्कृतिक कार्यक्रमको आवरणमा जापान पठाउने अरू दुई जना फरार अझै छन् । फरार आरोपीहरूलाई प्रहरीले खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म