पाकिस्तानका तीव्र गतिका बलरसामु निरीह बन्यो अस्ट्रेलिया
काठमाडौँ । पाकिस्तानी टोलीका तीव्र गतिका बलरहरुको धारिलो आक्रमणसामु निरीह बनेको अस्ट्रेलियाले घरेलु मैदानमै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला गुमाएको छ । पर्थमा आइतबार सम्पन्न तेस्रो तथा निर्णायक खेलमा पनि अस्ट्रेलिया आठ विकेटको फराकिलो अन्तरको लज्जास्पद हार स्वीकार्न बाध्य भयो ।
भ्रमणकारी टोली पाकिस्तानले तीन खेलको शृंखला २–१ ले जित्यो । यसअघि मेलबर्नमा खेलिएको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो । त्यसपछि एडलेइडमा खेलिएको दोस्रो खेलमा पाकिस्तानले अस्ट्रेलियालाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
तेस्रो टेस्टमा आइतबार टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३१.५ ओभरमै अलआउट हुनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.५ ओभरमा केवल २ विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
पाकिस्तानको जितमा ओपनर ब्याट्सम्यान सइम अयुबले ४२ रनको योगदान गरे । उनले ५२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । अर्का ओपनर अब्दुल्लाह सफिकले पनि टोलीको खातामा ३७ रन थपे । उनले ५३ बलमा एक छक्का र एक चौका प्रहार गरे ।
सइम अयुब र अब्दुल्लाह सफिकले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका बाबर आजमले पनि अविजित २८ रन बनाए । कप्तान मोहम्मद रिजवानले अविजित ३० रनको योगदान गरे । अस्ट्रेलियाका बलर लान्स मोरिसले दुई विकेट लिए ।
त्यसअघि, तेस्रो खेलमा पनि पाकिस्तानी टोलीको जितमा तिब्रगतिका बलरहरु नायक बनेका थिए । तीव्र गतिका बलहरुको लगातारको आक्रमणसामु अस्ट्रेलियन ब्याट्सम्यान निरीह देखिए । अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
माथिल्लो क्रमका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किनेक्रम जारी रह्यो । आठौँ नम्बरमा क्रिज समाल्न आएका सिन एबटले अस्ट्रेलियाका लागि सर्वाधिक ३० रन बनाए । उनले पनि ४१ बलको मात्र सामना गर्न सके । उनले एक छक्का र दुई चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान म्याथ्यू सर्ट २२ रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर ज्याक फ्रासर म्याकगर्क त सात रनमै आउट भए । एरोन हार्डी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान जस इङ्लिसले सात रन बनाए ।
कुपर कोनोली पनि सात रनकै ब्यक्तिगत स्कोरमा ‘रिटायर्ड हर्ट’ भए । पाकिस्तानी बलर मोहम्मद हसनैनले ती गतिमा फालेको बल कुपरको दाहिने हातमा बजारिएको थियो । यी युवा ब्याट्सम्यानको हातमा गम्भीर चोट लागेको बताइएको छ ।
अनुभवी मार्कुस स्टोइनिस आठ रनमै पेभेलियन फर्किए । प्रभावशाली ब्याट्सम्यान ग्लेन म्याक्सवेल त खातासम्म खोल्न सकेनन् । एडम जाम्पाले १३ र स्पेन्सर जोन्सनले अविजित १२ रन बटुले । लान्स मोरिस शून्य रनमै आउट भए ।
पाकिस्तानी टोलीका बलर साहिन शाह अफरिदी र नसिम शाहले तीन–तीन विकेट लिए । २४ वर्षीय अफरिदीले ८.५ ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिए । २१ वर्षीय नसिम शाहले नौ ओभरमा ५४ रन दिए । ह्यारिस रौफले पनि दुई विकेट हात पारे । मोहम्मद हसनैनले पनि एक विकेट लिए ।
अब अस्ट्रेलिया र पाकिस्तानबिच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिने छ । पहिलो टी–२० आगामी बिहीबार ब्रिसबेनमा खेलिने छ । दोस्रो टी–२० आगामी शनिबार सिडनीमा हुनेछ । तेस्रो तथा अन्तिम टी–२० नोभेम्बर १८ तारिखमा होबर्टमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्साङ’मा शेर्पा समुदायको कथा हेर्न पाइने
-
दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, आपराधिक लाभ लिन नहुने कसुरमा सकियो बयान
-
महान् क्रिकेटर ब्रायन लारा नेपाल आउने
-
‘पुष्पा २’को अहिलेसम्मको कमाई कति ?
-
बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त
-
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष