काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आजै साँझ उम्मेदवारको सूची प्रकाशन हुने जनाएको छ । यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
सो दिन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।
बुटवल । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडा अध्यक्षको निर्वाचनमा आज उम्मेदवारी दर्ता भएको छ ।
दर्ता भएको उम्मेदवारीमध्ये रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसको चुनाव चिन्हमा एमाले उम्मेदवार मैदान उत्रिएका छन् । पटक-पटक माओवादीले जित्दै आएको यो गाउँपालिकामा कांग्रेस र एमालेको सहमतिमा एमाले नेत्री केशकुमारी तुलाचनलाई कांग्रेसको चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराइएको हो । तुलाचन एमाले रुकुम पूर्वको उप सचिव हुन् ।
उक्त गाउँपालिका वडा नम्बर २ मा पनि कांग्रेस एमाले बिच गठबन्धन भएर निर्वाचनमा गएको कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले बताए ।
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २६ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।
रास्वपाले देशका विभिन्न निर्वाचन क्षेत्रमध्ये २६ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।
रास्वपाले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता गराएको छैन ।
मकवानपुर । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा–१२ वडा कार्यालयमा आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम अन्तर्गत ५ स्वतन्त्र र ९ वटा दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त थियो । कुल ८ हजार ५३ मतदाता रहेको हेटौंडा–१२ को वडा अध्यक्ष पदमा उपनिर्वाचनका लागि २ मतदान स्थलमा ९ वटा मतकेन्द्र कायम गरिएको छ ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन—२०८१ का लागि नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
आइतबार मनोनयन दर्ता गराउनका लागि दलका र स्वतन्त्र उम्मेदवारहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मंसिर १६ गते ४४ पदमा उपनिर्वाचन हुँदैछ ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
सो पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।
सुर्खेत । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । कर्णालीका विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि आइतबार दलहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा लगायतका दलले उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णालीमा ८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये ४१ उम्मेदवार राजनीतिक दलका छन् भने तीन जना स्वतन्त्र उम्मेदवार छन् ।
काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।
स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसमध्ये नगर प्रमुख पदका लागि उपनिर्वाचन हुने पालिका कीर्तिपुरमात्र हो । कीर्तिपुर नगरपालिकामा आइतबार उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुखसहित वडा नम्बर १ र वडा नम्बर ४ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने लागेको हो । सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलका अनुसार यहाँ नगरप्रमुख पदमा २० जनाको उम्मेदवारी परेको छ ।
पोखरा । गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्ष पदका लागि हुने स्थानीय तह उपनिर्वाचनका लागि १० जनाले उम्मेदवारी दिएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना, नेकपा माओवादी केन्द्रबाट बिष्णुबहादुर मगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै एकीकृत समाजवादीबाट खडबहादुर भुजेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राना, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रूप सिंह रानाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
धनगढी । जिल्ला समन्वय समिति कैलाली प्रमुखको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नागरिक उन्मुक्तिबिच प्रतिस्पर्धा हुने भएको छ । ती दुवै दलका उम्मेदवारले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कैलालीमा दोस्रो ठुलो दल रहेको नाउपाको तर्फबाट रुपमती डंगौरा थारुले जिसस प्रमुखको लागि उम्मेदवारी दिएकी छिन् । टीकापुर नगरपालिका वडा नम्बर ४ की वडा सदस्य रहेकी थारुको प्रस्तावक जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरिया रहेकी छन् भने जोशीपुरकी उपाध्यक्ष राजु तिरुवाले समर्थन गरेकी छिन् ।
समन्वय प्रमुखको उम्मेदवारी दर्ता गराउन नाउपाका प्रदेश सभा सदस्य कैलाश चौधरीसहित टीकापुर र भजनी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमा थारूले उम्मेदवारी दर्ता गराएकी हुन् । यहाँ नाउपासँग ७ मतभार रहेको छ ।
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि १६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित १५ पार्टी र एक जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय मोरङ ग्रामथान गाउँपालिकाले सार्वजनिक गरेको सूचीमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार थारु, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नविन कुमार विश्वास खवास, राप्रपाबाट दिनेशकुमार थन्दार, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, जसपाबाट धर्मेन्द्रकुमार चौधरीले उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राप्रपा नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, समावेशी समाजवादी पार्टी नेपालबाट बोध नारायण माझी र जसपाबाट सुरेशकुमार राजवंशीले उम्मेदवारी दिएका हुन् । ग्रामथान ५ का नमनारायण चौधरीले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । सुरक्षा विश्लेषणसहित प्रहरीले मङ्सिर १६ मा हुने उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्नुपर्ने निष्कर्ष सहितको प्रस्तावित ‘सुरक्षा योजना’ गृह मन्त्रालयमा पठाएको छ ।
गृहमन्त्री नेतृत्वको केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन भएपछि सो योजना लागू हुन्छ । ३३ जिल्लामा ४४ पदको लागि स्थानीय तह उपचुनाव हुँदैछ ।
कीर्तिपुर नगरपालिकामा मेयर, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर, मोरङको ग्रामथान र दोलखाको गौरीशङ्कर गाउँपालिकामा अध्यक्षको निर्वाचन हुँदैछ । ४ वटा गाउँपालिकामा उपाध्यक्ष र ३४ स्थानमा वडा अध्यक्षको चुनाव घोषणा गरिएको छ ।
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिको प्रमुखमा दलीय र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ । जसमध्ये दलका तर्फबाट नौ र ११ जना स्वतन्त्रको उम्मेदवारी परेका छ ।
त्यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १३ जनाको उम्मेदवारी परेको छ ।
चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनमा लागि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि उक्त दलका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेको समयमा एकीकृत समाजवादी पार्टीको तर्फबाट गौरीशङ्कर–५ निवासी रविना खड्काले उम्मेदवारी दर्ता गरेकी छिन् । खडकाको उम्मेदवारी दर्ता गर्न राष्ट्रियसभाका सांसद घनश्याम रिजाल, समाजवादीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, लगायत उपस्थित भएका थिए ।
सो पदका लागि रास्वपाबाट गौरीशङ्कर–८ निवासी गोमा श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । रास्वपा दोलखा सभापति दिनेश बस्नेतको उपस्थितिमा श्रेष्ठले मनोनयन दर्ता गरेकी हुन् ।
बुटवल । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनमा विभिन्न दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । गाउँपालिका उपाध्यक्षकाे उम्मेदवारमा ५ जना र वडा नं. २ को वडाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा नरपुरा बुढा पुन, एमाले र कांग्रेसको गठबन्धनबाट उपाध्यक्ष उम्मेदवारीमा कांग्रेसको चुनाव चिन्हमा एमालेका केशकुमारी तुलाचन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा सुनिता बुढा, स्वतन्त्रबाट कोपिला पुन बुढा र मोहनभक्त बुढा गरी ५ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए।
यसैगरी वडा नं २ को उम्मेदवारमा माओवादी केन्द्रबाट जगत घर्ती र कांग्रेस र एमालेको गठबन्धनबाट एमालेका जीवन रोकाले उम्मेदवार दर्ता गराएका छन् ।
बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडामा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् । आइतबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) गरी ६ दलले उम्मेदवारी दर्ता गराएका हुन्।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदका लागि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रका तर्फबाट रवि कुमार प्रधानले मनोनयन दर्ता गरेका हुन् ।
माधव प्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा प्रधानले उम्मेदवारी दिएका हुन् । प्रधान पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
माओवादी केन्द्रले हेटौंडा–१२ लाई आफ्नो किल्लाको रूपमा परिभाषित गर्ने गरेको छ । २०७४ र २०७९ को निर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदमा माओवादीका ललित बहादुर घलान निर्वाचित भएका थिए । दुवै निर्वाचनमा घलानले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । गत २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार घलानले १ हजार ३७१ मतसहित जित निकालेका थिए ।
मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी उम्मेदवारी दर्ता गराएका छन् । माझीले आइतबार निर्वाचन कार्यालय ग्रामथान तेतरियामा उम्मेदवारी दर्ता गराएका हुन् ।
यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । यसअघि त्यहाँ एमाले र नेपाली कांग्रेससहितका दलले उम्मेदवारी दर्ता गराएका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समितिबाहेक ४२ वटै पदमा उम्मेदवारी दर्ता गराउने भएको छ ।
आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपा नेता गणेश पराजुलीले अवरोध र धम्की आउने डरले उम्मेदवारहरूको नामावली सार्वजनिक नगरेको तर आजै ५ बजे सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा रास्वपाले आफ्नो पार्टीका उम्मेदवार तथा समर्थकहरूलाई धम्क्याउने तथा आक्रमण गर्ने गरेकाले उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका लागेको पराजुलीको भनाइ छ । उनले लोकतन्त्रको मूल्य र मान्यताविपरित भइरहेका सरकारी पक्षका गैरक्रियाकलापको पार्टीले निन्दा गरेको पनि बताए ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डंगोलले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्षमा कांग्रेसबाट इच्छा महर्जन र ४ नम्बर वडा अध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ । आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहका ४२ पदका लागि मतदान हुँदैछ ।
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको स्थानीय तह उपनिर्वाचनका लागि मेयर पदमा आइतबार दिउँसो ३ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
१५ मध्ये स्वतन्त्र उम्मेदवार ८ र दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । दलका तर्फबाट एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै कीर्तिपुर नगरपालिकाको ४ नम्बर वडाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । जसमध्ये स्वतन्त्र ४ र दलगत ६ जना रहेका छन् । त्यसैगरी वडा नम्बर १ को वडाध्यक्षका लागि २ स्वतन्त्र र ५ जना दलकातर्फबात उम्मेदवारी परेको छ ।
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।
सिरीजंघाको वडाध्यक्षमा एमालेका तर्फबाट कुमारी साउदेन (लिम्बु) ले उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्ताका क्रममा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई समेत उपस्थित भएका थिए ।