शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला

मङ्गलबार, ११ मङ्सिर २०८१, ०४ : ०२
मङ्गलबार, ११ मङ्सिर २०८१

काठमाडौं । काठमाडौं विश्वविद्यालय केयुको हल्ट प्राइज पुरस्कारका लागि दर्ता खुला भएको छ । विश्वविद्यालयका विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्न संचालन गर्दै आइएको एक प्रतिष्ठित वार्षिक प्रतियोगिता हो, हल्ट। 

यसले विद्यार्थी नवप्रवर्तकहरूलाई सामाजिक प्रभाव सिर्जना गर्न सशक्त गर्दै आएको बताइएको छ। यस प्रतिस्पर्धाले सहभागीलाई खाद्य सुरक्षा, पानीको पहुँचदेखि  ऊर्जा, वातावरण, रोजगारी तथा शिक्षाको क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको नवीन समाधानहरू विकास गर्न प्रेरित गर्छ। 

उचित विचारहरूलाई विश्वमा प्रभाव पार्ने किसिमको व्यवसायमा रुपान्तरण गर्नु नै यसको लक्ष्य रहेको केयुले जनाएको छ। हल्ट पुरस्कारका विश्वव्यापी विजेतालाई १० लाख अमेरिकी डलर बराबरको स्टार्टअप पुरस्कार प्रदान गरिने बताइएको छ । 

Registration Hult PRize

२०२४ को हल्ट पुरस्कारका लागि मुख्य विवरण
हल्ट पुरस्कार २०२४-०२५ कोहोर्टको विषयवस्तु, असीमित रहेको छ, जसले सहभागीलाई राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमध्ये कुनै पनि एकसँग मिल्ने नवीन समाधानहरू विकास गर्ने स्वतन्त्रता प्रदान गर्दछ। 

प्रत्येक टोलीमा दुईदेखि चार सदस्यहरू हुनुपर्नेछ । र टोलीका सबै सदस्यहरू स्नातक, स्नातकोत्तर वा पीएचडी जुनसुकै तहबाट भए पनि विश्वविद्यालय स्तरका विद्यार्थी हुनु पर्नेछ । यस वर्षको प्रतियोगिता काठमाडौं विश्वविद्यालयका सातवटा विद्यालयका विद्यार्थीहरूका लागि मात्र नभई अन्य विश्वविद्यालयका विद्यार्थीहरूका लागि पनि खुला रहेको बताइएको छ । यसलाई विविधता, अन्तरसंस्थागत सहकार्य र विचारको समृद्ध आदानप्रदानको माध्यमको रूपमा समेत लिइएको छ । 

केयुको हल्ट पुरस्कारमा भाग लिनुपर्ने कारण
यस प्रतियोगिताले विद्यार्थीहरूलाई विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्ने अवसर दिँदै उनीहरूको रचनात्मकता, नेतृत्व र उद्यमशीलताको सीपहरू प्रदर्शन गर्नको लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ। सहभागीले मार्गदर्शन, नेटवर्किङ अवसरहरू र स्रोतहरूमा पहुँच पाउँछन् जसले उनीहरूका विचारलाई प्रभावकारी स्टार्टअपमा बदल्न मद्दत गर्दछ।

प्रविधि, दिगो विकास वा सामाजिक रुपान्तरणमा चासो राख्नेहरुलाई हल्ट पुरस्कारले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गरेर आफ्नो छाप छोड्ने एक अद्वितीय अवसर प्रदान गर्नेछ। अब आफ्नो टोली बनाइ आफ्नो रचनात्मकता देखाउन विलम्ब गरिनु हुँदैन । दर्ता अब खुला भइसकेको छ, यस प्रतिस्पर्धामा सहभागी हुनका लागि काठमाडौं विश्वविद्यालयको हल्ट प्राइजको फेसबुक तथा इन्स्टाग्राम पेजमा दर्ता फारम निःशुल्क उपलब्ध छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप