‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने

काठमाडौँ । गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ ।
यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० भन्दा बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
डिजिटल अडिसनबाट छनोट हुने हरेकलाई उनीहरूकै ठाउँमा गएर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अब फिजिकल अडिसनमार्फत् २४ जनालाई छनोट गरेर प्रतियोगिता सुरु गरिने शोका निर्देशन विशाल भण्डारीले जानकारी दिए । शोको प्रसारण संस्था (टेलिभिजन) र निर्णायक (जज) भने केही दिनमा सार्वजनिक गरिने उनले बताए ।
‘एक्टिङ स्टार’मा भाग लिन इच्छुकले अझै पनि मंसिर ३० गतेभित्र दुई मिनेटसम्मको प्रस्तुतिसहितको भिडियो पठाउन सक्नेछन् । यसका विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने जनाइएको छ ।