प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक एजेण्डा के छन् ?
काठमाडौँ । १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा निजी क्षेत्रको प्रतिनिधित्व उल्लेख्य रूपमा हुनेछ । जसमा ४८ जना, उद्योगी व्यवसायी सहभागी हुनेछन् । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मससँग आवद्ध र ऊर्जासँग सम्बन्धित उद्योगी, व्यवसायी टोलीमा हुनेछन् । त्यसैगरी चीन–नेपाल आयात, निर्यातको व्यापार गरिरहेका केही व्यवसायीसमेत सहभागी हुने जानकारी गराइएको छ ।
भ्रमण एजेण्डा तय गर्नुअघि सरकारले निजी क्षेत्रसँग पटकपटक छलफल गरेको थियो । निजी क्षेत्रले दिएकामध्ये केही एजेण्डा भ्रमणमा समेटिएको स्रोतले बताएको छ । भ्रमणमा मुख्य एजेण्डा आर्थिक तथा पूर्वाधारको क्षेत्रका भए पनि औपचारिक रूपमा जानकारी गराइएको छैन ।
यसपटक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनमा विशेष छलफल हुने जनाइएको छ । नेपालले ७ वर्षअघि नै बीआरआई परियोजनामा सहमति जनाइसकेको छ । तर मोडालिटीका विषयमा छलफल नभएकाले थप काम हुन सकेको छैन । भ्रमणको दुईदिन अघि आज (शुक्रबार)सम्म सत्तासाझेदार दल नै यो विषयमा एकमत हुन सकेका छैनन् । तर चिनियाँ पक्षले बीआरआईलाई विशेष जोड दिने जानकारी नेपाली पक्षलाई दिइसकेको छ ।
स्रोतका अनुसार यसपटक चीनसँग विद्युत व्यापार थालनी गर्ने प्रारम्भिक समझदारी हुनेछ । अन्तरदेशीय रेलमार्गको अध्ययन र निर्माणलाई अघि बढाउन पहल गर्ने एजेण्डा पनि नेपालको प्राथमिकतामा छ । विद्युत् व्यापारको पूर्वाधार निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीले कुरा उठाउने छन् ।
त्यस्तै चीन सरकारको सहयोग र लगानीमा सञ्चालित परियोजनाबारे नेपाली पक्षले कुरा उठाउने छ । यसमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नारायणघाट–बुटवल सडक खण्ड प्रमुख एजेण्डा बन्नेछन् । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म चल्न सकेको छैन । नारायणघाट–बुटवल सडक खण्डको ठेकेदार चिनियाँ कम्पनी तीन महिनादेखि ‘बेपत्ता’ छ ।
अर्थ मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बेला लिएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न आग्रह गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागेको करिब ३३ अर्ब ऋणलाई अनुदानमा बदल्न आग्रह गर्ने एजेण्डालाई नेपालले उठाउने छ । नेपाल सरकारले चीनको एक्जिम बैंकलाई विमानस्थल निर्माण गर्दा लागेको ऋण तिर्न सकेको छैन । विमानस्थलको आम्दानीको तुलनामा चिनियाँ बैंकको ऋणको किस्ता धेरै भएपछि सरकारले पटक–पटक चिनियाँ पक्षसँग ऋणलाई अनुदानमा रूपान्तरण गरिदिन आग्रह गर्दै आएको छ । तर औपचारिक निर्णय भने भएको छैन ।
यो भ्रमणमा चीन–पोखरा सिधा हवाई उडान गर्न पनि नेपाली पक्षले आग्रह गर्नेछ । नेपालबाट हिमालय एयरलाइन्समार्फत नियमित उडान गराउने प्रतिबद्धता गराउँदै नेपाली पक्षले चीनबाट कम्तीमा सातामा दुई उडान नियमित गर्न आग्रह गर्नेछ ।
केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणको एजेण्डा समेटिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल गत वर्ष चीन भ्रमणमा जाँदा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण सुरु गर्ने सहमति भएको थियो । तर काम अगाडि नबढेपछि नेपाली पक्षले यो पटक पनि फेरि उठाउने भएको हो ।
निजी क्षेत्रले अन्य ऊर्जा आयोजनाको विषय उठाए पनि यो मात्रै समेटिएको स्रोतको भनाइ छ । यसका साथै चीन–नेपाल विद्युतीय ऊर्जा सहयोग योजनामार्फत जलविद्युत्, सौर्य तथा वायु ऊर्जा र हाइड्रोजन पावरको क्षेत्रमा पनि सहकार्य गर्न नेपालले अनुरोध गर्नेछ ।
त्यस्तै ट्रान्जिट ट्रान्सपोर्टको विषयमा पनि नेपाली पक्षको एजेण्डामा छ । अन्तरदेशिय व्यापार तथा पारवहनका बारेमा पनि छलफल गर्ने विषय समेटिएको छ । नेपाल–चीनबिच रहेका नाका पूर्ण क्षमतामा चलाउन पनि नेपाली पक्षले आह्वान गर्नेछ । विशेषगरी कोभिडपछि नेपाल–चीन नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । यसले गर्दा नेपाली पक्ष बढी मर्कामा परेको छ । निजी क्षेत्रका व्यवसायीहरूले पनि सम्पूर्ण नाका निर्वाध चल्नुपर्ने आवाज उठाएका थिए । स्रोत भन्छ, ‘नेपाली पक्षले उठाउने महत्त्वपूर्ण एजेण्डा एउटा नाका हो, अर्को पोखरा विमानस्थल ।’ यसका साथै दुई देशबिच केही महत्त्वपूर्ण सहयोगसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर
-
शेयर बजार र अन्य क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, कस्तो छ राशिफल हेर्नुहोस्
-
फर्ममा फर्कियो रियाल मड्रिड
-
‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई