आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी

शुक्रबार, १४ मङ्सिर २०८१, २३ : ०७
शुक्रबार, १४ मङ्सिर २०८१

पोखरा । सन् २०१४ सम्म सम्पन्न गर्ने भनेर परिकल्पना गरिएको पोखराको खानेपानी शुद्धीकरण आयोजना १० वर्षपछि बल्ल पूरा भएको छ । सन् २००४ मा डिजाइन गरिएको उक्त आयोजना २०१९ मा सुरु गरिएको थियो । कोरोना सङ्क्रमण लगायत विभिन्न कारणले सम्झौता गरिएको भन्दा करिब २ वर्षपछि काम पूरा भएको हो । योसँगै पोखरेलीलाई शुद्ध पानी वितरण सुरु भएको छ ।

जापान सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आयोजना शुक्रवार खानेपानी संस्थानलाई हस्तान्तरण गरेको हो । आयोजनाको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरे । आयोजना निर्माणका लागि जाइकाले ४ अर्ब ८१ करोड अनुदान सहयोग गरेको छ ।

२०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबिच आयोजनाका लागि अनुदान सम्झौता भएकोमा निर्माणको ठेक्का जापानकै हाज्मा एन्ड कर्पोरेसनले पाएको थियो । २०८० पुस १५ मा आयोजनाको म्याद सकिए पनि २०८१ भदौ १५ सम्मका लागि म्याद थप गरिएको संस्थानले जनाएको छ ।

मर्दी को पानी शुद्ध बनाउन मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वटा बालुवा हटाउने ट्याङ्की (ग्रिट च्याम्बर) र ४ वटा पानी थिग्र्याउने ट्याङ्की (सेडिमेन्टेसन टङ्की) निर्माण गरिएको छ । मुहानबाट लगिएको पानी पोखरा १९ पुरुन्चौरमा निर्माण भएको पानी छान्ने फिल्टरमा खसालिन्छ ।

यहाँ ४ करोड १० लाख लिटर क्षमताका ६ वटा फिल्टर र ९ सय ३० घनमिटरका २ वटा सफा पानी सङ्कलन टङ्की निर्माण गरिएको छ । सँगै क्लोरिनेसन प्लान्ट पनि बनाइएको छ । जाइकाले नै पस्र्याङ, फूलबारी र कोलपाटनमा २०–२० लाख क्षमताका ओभरहेड टङ्की बनाएको छ ।

यद्यपि कोलपाटनको टङ्की अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डका कारण सञ्चालनमा आएको छैन । ‘जाइकाले गर्नुपर्ने सबै काम पूरा भएको छ । काम सकिएकै कारण हस्तान्तरण गरिएको हो,’ संस्थान पोखराका प्रमुख आशिष् कार्कीले भने, ‘कोलपाटनको टङ्कीमा भने विमानस्थलको कारण समस्या आयो । त्यसको पनि विकल्प खोजी भैसकेको छ । करिब ६ करोड भयो भने व्यवस्थापन हुन्छ ।’ 

टङ्की बनाउन १४ करोड भन्दा बढी खर्च लागेको उनको भनाई छ । टङ्की सञ्चालनमा नआएका कारण त्यस क्षेत्रका ४ वटा वडा प्रभावित भएका छन् ।

पुरुञ्चौरबाट प्रशोधित पानी २० इन्चको पाइपबाट पोखरा २ विन्ध्यवासिनी र १६ इन्चको पाइपबाट पोखरा १६ लामाचौरको अमला विसौनीमा रहेको टङ्कीमा पठाइन्छ । संस्थानले पोखराका १ देखि १९ नम्बर वडासम्म पानी वितरण गर्छ । यहाँ ८ करोड ७० लाख लिटर पानी माग छ ।

आपूर्ति भने ६ करोड २० लाख लिटर मात्रै रहेको संस्थान पोखराका प्रमुख आशिष् कार्कीले जानकारी दिए । उनका अनुसार मर्दीको पानीसँगै भोटीखोला, कालिमुडा र बोरिङबाट पानी आपूर्ति हुँदै आएको छ । विभिन्न ठाउँमा २० वटा बोरिङ सञ्चालनमा छन् ।

त्यसबाट डेढ करोड लिटर पानी उत्पादन भएको छ । मर्दीकै भत्केको पुलबाट ५० लाख लिटर पानी थप्ने योजना रहेको उनले सुनाए । ‘पोखरामा पानीको माग धेरै छ । यो पानीले पोखरालाई पुग्दैन । १० वर्षअघिको लागि डिजाइन गरिएको आयोजना बल्ल सकिएको छ, पानी कम हुने कुरा स्वाभाविक छ,’ उनले भने, ‘पोखरामा वार्षिक ४.२ प्रतिशत जनसङ्ख्या बढेको छ । तर पानीको स्रोत थपिएको छैन । शुद्धीकरण गरिएको पानी पठाएपछि झनै समस्या हुन सक्छ ।’

शुद्धीकरण आयोजनासँगै पानी वितरण गर्न मुख्य र भित्री सडकमा १ सय ११ किलोमिटर लामो पाइपलाइन विस्तार भएको छ । जाइकाले ट्रान्समिसन पाइपलाइन १० किलोमिटर, मुख्य वितरण लाइन ३६ किलोमिटर र सहायक वितरण लाइन ५२ किलोमिटर पाइप बिछ्याएको हो ।

बाँकी १२ किलोमिटर मुख्य वितरण लाइन संस्थानले बिछ्याएको छ । संस्थानले साढे ३ लाख उपभोक्तालाई ५२ हजार धाराबाट पानी वितरण गर्दै आएको छ । बर्सेनि २ हजार धारा थप हुने अनुमान संस्थानको छ । आयोजना हस्तान्तरण भए पनि निर्माण कम्पनी अझै १ वर्ष नेपालमै बस्ने भएकोले मर्मत र बाँकी रहेको काम सम्पन्न हुने बताइएको छ । २०८२ सालबाट पूर्ण क्षमतामा आयोजना सञ्चालन संस्थानले जनाएको छ ।

घट्दैछ पानी आपूर्ति

पानी शुद्धीकरण गर्ने प्लान्ट सञ्चालनमा आएसँगै मर्दीबाट आउने पानीमा दैनिक ५० लाख लिटर उत्पादन घट्ने भएको छ । जसका कारण झन्डै ५ हजार घरधुरी प्रभावित हुने संस्थानले जनाएको छ ।

त्यसलाई पूर्ति गर्न हालको मुहानभन्दा तलबाट थप पानी सङ्कलन गरी ट्रिटमेण्ट प्लान्टमा हाल्न लागिएको छ । तर त्यसको भर्खर टेन्डर आह्वान भएको छ । ५ सय मिलिमिटरको पाइपबाट ५० लाख लिटर पानी लैजाने गरी काम भइरहेको कार्कीले सुनाए ।

उनका अनुसार संस्थाले माछापुच्छ्रे कै सार्दीखोलाबाट थप १ करोड लिटर पानी ल्याउन डीपीआर बनाउन लागेको छ । थप ३ वटा बोरिङ (औद्योगिक क्षेत्र, बिरौटा र बगर० निर्माण चलिरहेको छ । ती बोरिङबाट ३० लाख लिटर पानीको आपूर्ति पूरा हुनेछ ।

अब सीधै पिउन मिल्छ ?

उद्घाटन समारोहमा मन्त्री यादवले पोखरेलीले अब सीधै धारा खोलेर पानी पिउन मिल्ने बताए पनि संस्थानले वितरण गर्ने पानी त्यति शुद्ध भैसकेको छैन । कारण हो मर्दी भन्दा अन्य क्षेत्रबाट ल्याइएको पानी । भोटिखोलाको पानी शुद्ध बनाउन ट्रिटमेण्ट प्लान्ट निर्माण भइरहेको छ ।

८० प्रतिशत काम सकिएको संस्थानले जनाएको छ । कालिमुडाको पानी शुद्धीकरण गर्न अहिलेसम्म ट्रिटमेण्ट प्लान्ट निर्माण अघि बढेको छैन । यद्यपि पहिलेजस्तो धमिलो र लेदो पानी पोखरेलीले उपभोग गर्नुपर्ने छैन ।

मन्त्री यादवले माछापुच्छ्रेको काखबाट पोखरेलीलाई शुद्ध पानी वितरण गर्न सफल भएकोमा संस्थानलाई र सहयोग गर्ने जाइकालाई धन्यवाद दिए । ‘हिजो बर्सातको समयमा हिलो मिसिएको पानी पिउनुपर्ने अवस्था थियो ।

अब त्यो पीडा सकिएको छ,’ उनले भने, ‘यो मेलम्चीपछिको ठुलो आयोजना हो । सबैको सहयोगबाट सम्पन्न भएको छ । सबैलाई धन्यवाद ।’ आयोजनामा बाँकी रहेका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने उनको भनाई छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप

छुटाउनुभयो कि ?