गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीको घुइॅंचो, तीन हजार सुरक्षाकर्मी परिचालन

बारा । बाराको वरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरूको घुइॅंचो बढ्न थालेको छ । गढीमाई मेला मूल व्यवस्थापन समितिका अनुसार यही मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिबार दिउसोसम्म करिब ४० लाख दर्शनार्थीहरू मेलामा आइसकेका छन् ।
गढीमाई मेला हुने विशेष पूजा नजिकिएसॅंगै मेलामा दर्शनार्थीहरूको भिड बढेको मूल पुजारी शिव चौधरी बताउँछन् । बिहानैदेखि गढीमाई माताको दर्शन गर्न देशका विभिन्न जिल्लासहित विदेशबाट समेत लाखौँको सङ्ख्यामा भक्तजनहरू आएका छन् ।
अझ शनिबार सम्पूर्ण सरकारी कार्यालय, बैंक लगायतमा बिदा हुने भएकाले आज मेला घुम्न आउनेको सङ्ख्या उल्लेख्य बढेको छ । गढीमाई मेलामा भोलि र पर्सी गढीमाइ मेलामा बलि दिइनेछ । भोली राँगा बलि तथा पर्सी बोका बलि हुने समितिले बताएको छ ।
भोली विशेष पूजापछि पशु बलि दिने क्रम सुरु हुने मूल पुजारी चौधरीको भनाइ छ । उनका अनुसार नर बलि दिएपछि मात्र गढीमाई मेलामा पशु बलि दिन सुरु गरिनेछ ।
अहिले पशु बलिको लागि मेलामा करिब ५ हजार राँगा आइसकेको र अझै राँगा आउने क्रम जारी रहेको बलि व्यवस्थापन उपसमितिले जनाएको छ । गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार यस वर्ष १७ हजार बलि चढ्ने अनुमान छ । मेलामा यो वर्ष करिब ३ करोड दर्शनार्थीले अवलोकन गर्ने गढीमाई मेला मूल व्यवस्थापन समितिको अनुमान छ ।
सुरक्षा व्यवस्था कडा
गढीमाई मेलामा आउने भक्तजनहरूको भीड बढ्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भक्तजनहरूको गतिविधिमा निगरानी तथा चेकजाँचमा कडाइ पारिएको बारा एसपी महेन्द्र खडकाले बताए ।
उनका अनुसार मेलालाई सभ्य, भव्य एवम् व्यवस्थित बनाउन सुरक्षा व्यवस्था एकदम कडा बनाइएको हो । मेलामा दर्शनार्थीहरूको सुरक्षाका लागि तीन हजारको सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
यसको अलावा नगर प्रहरी, स्वयंसेवकहरू समेत भक्तजनहरूको सुरक्षार्थ खटिएका छन् भने सूक्ष्म तारिकाले सबैको निगरानीका लागि ३५० भन्दा बढी सिसिटिभी क्यामरा राखिएको छ ।
खान बस्नको पनि सुविधा
मेलामा दर्शनार्थीहरूको सुरक्षासँगै बास, खाना लगायतको सुविधा समेत उपलब्ध गराइएको मेला समितिले जनाएको छ । साथै दर्शनार्थीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले मन्दिरमा ब्यारेकेटिङ गरेर व्यवस्थित बनाइएको छ ।
साथै मेलामा भक्तजनहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर, खानेपानी, घुम्ती शिविर, शौचालय, दाउरा लगायतको प्रबन्ध मिलाइएको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनायो ।
विशेष पूजा गर्नका लागि पाँच सयको नगदी रसिद लिएर जाने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह