सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रविलाई आज अदालत पेस गरिँदै, पुनः म्याद थपको तयारी

आइतबार, २३ मङ्सिर २०८१, १० : ०१
आइतबार, २३ मङ्सिर २०८१

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । मङ्सिर ८ गतेदेखि लागू हुने गरी थपिएको १५ दिन शनिबार सकिएको छ । 

उनलाई अनुसन्धान बाँकी रहेको भन्दै पुनः म्याद थपको तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ । 

बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो । वीरगन्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको छ । 

लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो । यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौंथोपटक १३ दिन र पाँचौँपल्ट १५ दिन म्याद थप गरिएको थियो । छवि जोशी पक्राउ गरेको दिन असोज ६ गतेलाई पहिलो दिन मानेर लामिछानेको म्याद मिलान भएको अदालतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप