ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शनपछि अस्ट्रेलियासँग १० विकेटले हार्यो भारत
![ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शनपछि अस्ट्रेलियासँग १० विकेटले हार्यो भारत](https://npcdn.ratopati.com/media/news/aust_WeapgYdkbV.webp)
काठमाडौँ । बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृङ्खला अन्तर्गतको दोस्रो खेलमा घरेलु टोली अस्ट्रेलियाले सजिलो जित हात पारेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतबार अस्ट्रेलियाले भारतलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
अस्ट्रेलियाको जितसँगै पाँच टेस्टको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । यसअघि पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई दुई सय ९५ रनले हराएको थियो । अस्ट्रेलियाले दोस्रो टेस्टको दोस्रो पालीमा जितका लागि केवल १९ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
त्यो लक्ष्य अस्ट्रेलियाले कुनै पनि विकेट नगुमाई पुरा गर्यो । दोस्रो पालीमा अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान नाथन म्याकस्विनीले अविजित १० र अस्मान ख्वाजाले अविजित नौ रनको योगदान गरे । अस्ट्रेलियाले ३.२ ओभरमा विजय लक्ष्य पुरा गर्यो ।
त्यसअघि, दोस्रो टेस्टको तेस्रो दिन आइतबार नै भारतीय टोली आफ्नो दोस्रो पालीमा पनि खराब प्रदर्शन गर्दै केवल एक सय ७५ रनमा अलआउट भएको थियो । त्यसपछि घरेलु टोली अस्ट्रेलियाले जितका लागि दोस्रो पालीमा केवल १९ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
दोस्रो पालीमा पनि भारतका लागि कुनै ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । भारतका लागि नितिषकुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएका थिए । शुभमन गिल २८ रन बनाउँदै आउट भए भने विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पनि २८ रनभन्दा अगाडि बढ्न सकेनन् ।
ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले टोलीको खातामा २४ रन थपे । अनुभवी ब्याट्सम्यान विराट कोहली ११ रन बनाउँदै पेभेलियन फर्किए । ओपनर केएल राहुल सात र कप्तान रोहित शर्मा ६ रनमै आउट भए ।
यसैगरी, रविचन्द्रन आश्विन पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । दोस्रो पालीमा अस्ट्रेलियन बलर प्याट कमिस्स एक्लैले पाँच विकेट लिए । ३१ वर्षीय दायाँहाते तिब्रगतिका बलर कमिन्सले १४ ओभरमा ५७ रन खर्चिए ।
अस्ट्रेलियाका लागि स्कट बोल्यान्डले पनि तीन विकेट लिएका थिए । उनले ८.५ ओभरमा ५१ रन खर्चिएका थिए । मिचेल स्टार्कले पनि दुई विकेट लिए । दोस्रो पालीमा भारतीय टोलीले अतिरिक्त रुपमा पनि १३ रन पायो ।
त्यसअघि, अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा तीन सय ३७ रन बनाएको थियो । एडलेइडमा खेलिएको खेलमा अस्ट्रेलियाका लागि पहिलो पालीमा ट्राभिस हेडले शतकीय योगदान गरे । उनले एक सय ४० रन बनाए । उनले एक सय ४१ बलको सामना गरी चार छक्का र १७ चौका हिर्काए । ३० वर्षीय हेडले टेस्ट क्रिकेटमा बनाएको यो आठौँ शतक हो । उनी म्यान अफ दि म्याच घोषित भए ।
अस्ट्रेलियाका लागि मार्नस लाबुशेनले पनि अर्धशतक बनाए । उनले टोलीक लागि ६४ रनको योगदान गरे । यसक्रममा उनले एक सय २६ बलको सामना गरी नौ चौका पनि हिर्काए । ओपनर नाथन म्याकस्विनीले ३९ रन बनाए ।
अस्ट्रेलियन टोलीले अतिरिक्त रुपमा २१ रन पायो । पहिलो पालीमा भारतीय टोलीका बलर जसप्रित बुमराह र मोहम्मद सिराजले चार–चार विकेट लिए । नितिषकुमार रेड्डी र रविचन्द्रन आश्विन पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, भारतीय टोली आफ्नो पहिलो पालीमा पनि केवल एक सय ८० रन बनाउँदै अलआउट भएको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतक समेत बनाउन सकेनन् ।
भारतका लागि नितिष कुमार रेड्डीले ४२ रन बनाएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका नितिषले ५४ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । ओपनर ब्याट्सम्यान केएल राहुलले पनि टोलीको खातामा ३७ रन थपे । उनले ६४ बलमा ६ चौका प्रहार गरे ।
शुभमन गिल ३१ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रविचन्द्रन आश्विनले २२ रन बनाए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त २१ रन बनाउँदै आउट भए । पहिलो पालीमा भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतीय टोलीले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । पहिलो पालीमा घरेलु टोली अस्ट्रेलियाका बलर मिचेल स्टार्क एक्लैले ६ विकेट लिए । बायाँहाते तिब्रगतिका बलर स्टार्कले १४.१ ओभरमा दुई मेडन राख्दै ४८ रन खर्चिए ।
प्याट कमिन्स र स्कट बोल्यान्डले पनि दुई–दुई विकेट हात पारे । पहिलो पालीमा भारतीय टोलीका ब्याट्सम्यानहरु ४४.१ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । दोस्रो टेस्ट दिवा–रात्री रुपमा खेलिँदै हो । शृङ्खला अन्तर्गतको तेस्रो टेस्ट डिसेम्बर १४ तारिखमा ब्रिसबेनमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात