शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यम हुँदै आईसीसीसम्म पुग्यो ट्राभिस हेड–मोहम्मद सिराज विवाद

सोमबार, २४ मङ्सिर २०८१, १० : ४७
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृंखलाअन्तर्गत एडलेइडमा सम्पन्न दोस्रो खेलका क्रममा अस्ट्रेलियन खेलाडी ट्राभिस हेड र भारतीय खेलाडी मोहम्मद सिराजबिच भएको विवाद अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सम्म पुगेको छ ।

त्यो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । अस्ट्रेलियाको जितपछि पाँच टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ । खासमा, अस्ट्रेलियाले पहिलो पाली ब्याटिङ गरिरहँदा ट्राभिस हेड र मोहम्मद सिराजबिच विवाद भएको थियो । अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेडलाई एक सय ४० रनको ब्यक्तिगत स्कोरमा भारतका तिब्रगतिका बलर मोहम्मद सिराजले बोल्ड गराएका थिए ।

ट्राभिस हेडलाई हाउट गरेपछि मोहम्मद सिराजले पटक–पटक दर्शकतर्फ हेर्दै निकै आक्रामक तरिकाले खुसियाली मनाएका थिए । मोहम्मद सिराजको उक्त ब्यवहारबाट ट्राभिस हेड पनि उत्तेजित बन्न पुगे । त्यसपछि उनी मैदानबाट बाहिरिने क्रममा मोहम्मद सिराजनजिक गए र उनलाई केही भने । ट्राभिड हेडले मोहम्मद सिराजलाई के भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

त्यसपछि ट्राभिस हेड सरासर पेभेलियनतर्फ लम्किए । ट्राभिस हेड पेभेलियन फर्किएपछि खेल पुनः सुरु भयो । तर, मोहम्मद सिराजको ब्यवहारबाट आक्रोशित बनेका अस्ट्रेलियन समर्थकले खेल अवधिभर उनीविरुद्ध लगातार नाराबाजी गरिरहे ।

उक्त घटन सञ्जारमाध्यम र समाजिक सञ्जालमा पनि ब्यापक चर्चाको विषय बन्न पुग्यो । त्यसैले आईसीसीले यो घटनाको विषयमा छानबिन गरी दोषी खेलाडीमाथि अनुशासनको कारवाही अगाडि बढाउने भएको छ । समाचारपत्र दि डेली टेलिग्राफका अनुसार, आईसीसीले उक्त घटनासँग जोडिएका दुबै खेलाडी मोहम्मद सिराज र ट्राभिस हेडमाथि अनुशासनको कारवाही गर्ने सम्भावना छ । उक्त खेलमा ट्राभिस हेड प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

खेलपछि आयोजिक पत्रकार सम्मेलनमा ट्राभिस हेडले मैदानबाट बाहिरिने क्रममा आफूले मोहम्मद सिराजलाई ‘गजब’ र ‘निकै राम्रो’ भन्ने शब्द प्रयोग गरेको जानकारी दिए । उनले मोहम्मद सिराजलाई यस्तो प्रतिक्रिया दिएर आफूले गल्ति गरेको पनि बताए ।

‘मैले मोहम्मद सिराजलाई यस्तो प्रतिक्रिया पनि बेकारमा दिएँ । यसका लागि म क्षमाप्रार्थी छु । हाम्रो टोली पनि यस्तो व्यवहारलाई स्वीकार्दैन । मैदानमा के भएको थियो भन्ने कुरा मैले सार्वजनिक रुपमा बताउनु आवश्यक थियो । त्यसैले यो जानकारी सार्वजनिक गरेको हुँ,’ उनले भने ।

अर्कोतिर, मोहम्मद सिराजले भने मैदानबाट बाहिरिने क्रममा ट्राभिस हेडले आफूलाई गाली गरेको आरोप लगाएका छन् । ‘ट्राभिस हेडको विकेट लिएपछि म खुसीयाली मनाउँदै थिएँ । एकाएक उनी मनजिक आए र मलाई गाली गरेर मैदानबाट बाहिरिए,’ मोहम्मद सिराजले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप