दुध बेचेरै मासिक एक लाख बढी आम्दानी
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दुध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।
विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सृजनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याएका थिए । पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गरेका पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका बताए ।
उनले दैनिक एक सय ५० लिटर दुध बिक्री गर्दै आएको बताए । “साँझ र बिहान गरी दैनिक एक सय ५० लिटरसम्म दुध बिक्री गर्दै आएको छु”, उनले भने, “पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।” फार्ममा उत्पादन भएको दुधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उनले बताए ।
गाईभैँसीलाई दाना तथा घाँसखेतीका लागि मासिक बढीमा रु एक लाख ५० हजार जति खर्च हुने गरेको छ । “पशुपालन व्यवसायसँग जोडेर चार कट्ठा क्षेत्रफलमा टमाटर, लौकालगायतका तरकारीसमेत लगाएको छु”, उनले भने, “गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएको छु ।” यहाँ उत्पादन हुने दुध तथा तरकारी घरबाटै बिक्री हुने गरेको पौडेलको भनाइ छ ।
“फार्ममा उत्पादन हुने तरकारी तथा दुध बिक्रीका लागि समस्या छैन”, उनले भने, “तरकारीमा उचित मूल्य पाउन कठिन भए पनि दुध बिक्रीका लागि भने राम्रै मूल्य पाइन्छ ।” आफूले उत्पादन गरेको दुध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दुध रु ७५ र भैँसीको दुध रु १०० मा बिक्री हुँदै आएको बताए । “गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु”, उनले भने, “घाँस पराल काट्ने च्यापकटर र मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु ।”
पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताए । “हामी घरको चार जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ”, उनले भने, “सधैँ सबै काम चार जनाले मात्रै गर्न नसक्ने अवस्थामा घण्टे खेताला पाइन्छ, उनीहरूलाई पनि काममा लगाउने गरेका छौँ ।” गाईभैँसीको दुध हातले दुहुने गरेको भन्दै १४ वटै गाईभैँसीको दुध दुहुन साढे एक घण्टा लाग्ने उनले बताए ।
व्यावसायिक रूपमा कृषि तथा पशुपालन सुरु गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि रु एक लाख ५० हजार अनुदान पाएको उनले बताए । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबवेल निर्माण गरेको पौडेलको भनाइ छ । फार्ममा पालेका गाईलाई कृत्रिम गर्भाधान र भैँसीलाई प्राकृतिकरुपमा गर्भाधान गराउने गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण