बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

के अङ्ग्रेजी भाषा भविष्यमा पनि आजको जस्तै लोकप्रिय रहला ?

शुक्रबार, ११ जेठ २०७५, १४ : २८
शुक्रबार, ११ जेठ २०७५

अङ्ग्रेजी भाषा विश्वमा करौडौं मानिसहरुले बोल्ने भाषा हो । तर के अनुवादको प्रविधिमा भएको विकास र ‘हाइब्रिड’ भाषा प्रयोगले यसको यो स्थितिलाई खतरा पुग्नेछ ?

शुरुमा एउटा प्रश्न : विश्वमा सबैभन्दा धेरै अङ्ग्रेजी बोल्ने नागरिक कुन देशमा छन् वा सबैभन्दा धेरै मानिसहरु अङ्ग्रेजी भाषा सिकिरहेका छन् ?
यसको उत्तर चीन हो ।
क्याम्ब्रिज युनिभर्सिटी प्रेसका अनुसार चीनका ३५ करोड मानिसलाई कम्तिमा केही मात्रामा अङ्ग्रेजी आउँछ । त्यसको अतिरिक्त भारतका १० करोड मानिसहरुलाई अङ्ग्रेजी भाषाको जानकारी रहेको छ ।

चीनमा अङ्ग्रेजी भाषालाई दोश्रो भाषाको रुपमा बोल्नेको सङ्ख्या अमेरिकामा अङ्ग्रेजीलाई पहिलो भाषाको रुपमा बोल्नेभन्दा धेरै छ । (अमेरिकामा पाँच भागमा एक भाग मानिसहरु आफ्नो घरमा अङ्ग्रेजीबाहेक अर्को भाषा प्रथम भाषाको रुपमा बोल्दछन् ।)

तर, कहिलेसम्म अङ्ग्रेजी ‘विश्वको सबैभन्दा लोकप्रिय भाषा’को रुपमा रहनेछ ? द वल्ड इकोनोमिक फोरमका अनुसार विश्वका १.५ अर्ब मानिसले अङ्ग्रेजी बोल्छन् तर ४० करोडभन्दा कम मानिसहरुले मात्र पहिलो भाषाको रुपमा यसलाई बोल्ने गरेका छन् ।

अङ्ग्रेजी विश्वको सबैभन्दा धेरैले प्रयोग गर्ने सम्पर्क भाषा हो । अधिकांश मानिसहरु एक आपसमा पहिलो भाषा नमिल्दा यो भाषाको शरण पर्ने गर्छन् । एक क्षणको लागि फ्रेन्च भाषा नजान्ने एक चिनियाँ भाषी र चिनियाँ भाषा बोल्न नजान्ने एक फ्रेन्च भाषी एक अर्कासँग बोलेको अनुमान गर्नुस् । उनीहरुले अङ्ग्रेजी भाषामा सम्बाद गरिरहेको सम्भावना सबैभन्दा बढी रहन्छ ।

पाँच वर्ष अघिसम्म यो कुरालाई दावाका साथ भन्न सकिन्थ्यो तर अब समय बदलिरहेको छ । अहिले कम्प्युटरले गर्ने अनुवादमा भएको विकास र आवाज पहिचान प्रविधिमा भएको उन्नतिको कारणले उनीहरुले अब आफ्नै भाषामा बोले पनि एक अर्कासँग सम्वाद गर्न सक्नेछन् । 

त्यसो भए के अङ्ग्रेजी भाषाको विश्वव्यापी विस्तारमा कमी आउनेछ ?

आजकल इङ्लिस भाषामा लेखिएको लेखहरु कम्प्युटर, ट्याब्लेट र मोबाइलमा केही क्लिक गरेर सजिलै जर्मन वा जापानी भाषामा पढ्न सकिन्छ । भाषाको सम्बन्धमा कम्प्युटरले सबै काम गर्न सक्छ भने अङ्ग्रेजी पढ्न किन दुःख गर्ने ?

आजको दिनमा तपाईले अन्तर्राष्ट्रिय व्यापार गर्न चाहनुभयो भने अथवा भर्खरै आएको भिडियो गेम खेल्न चाहनुभयो भने वा पप गीत सुन्न चाहनुभयो भने अङ्ग्रेजी नजानिदा अफ्ठ्यारो पर्न सक्छ । तर यो अवस्थामा पनि तीब्र रुपमा परिवर्तन आइरहेको छ ।

क्यालिफोर्नियाका एक दक्षिण कोरियाली वैज्ञानिक ओनक्युम ली अनुवाद र आवाज पहिचान प्रविधि विकास गर्न सहयोग गरिरहेका छन् । उनले विकास गरेको प्रविधि यति राम्रो छ कि तपाईले ग्राहक सेवा हेल्पलाईनमा फोन गर्नु भयो भने तपाई मानिससँग कुरा गरिरहनुभएको हो कि कम्प्युटरसँग बोलिरहनु भएको छ भने छुट्टाउन सक्नुहुन्न ।

स्ट्यानफोर्ड विश्वविद्यालयको भाषा र कम्युटर विज्ञान संकायमा मेसिन लनिङ्गका प्रोफेसर क्रिस्टोफर म्यानिङ्गले केही समय पछिनै कम्प्युटर अनुवाद प्रविधि मानव अनुवादभन्दा राम्रो हुन नसक्ने कुनै कारण नभएको बताए ।

तर अङ्ग्रेजी भाषाले भोगिरहेको चुनौती यो मात्र होइन । किनकी धेरै मानिसहरुले यसलाई दोश्रो वा तेस्रो भाषाको रुपमा प्रयोग गरिरहेकाले यसमा तिनको पहिलो भाषाको प्रभाव मिसिने गर्छ । भारतमा मात्रै तपाईंले हिङ्गलिस(हिन्दी–इङ्लिस), बेङ्गलिस(बेङ्गाली–इङ्लिस) र तङ्गिलस(तमिल–इङ्लिस) पाउनुहुन्छ ।

अङ्ग्रेजी भाषाको मूलभूमि मानिने बेलायतमै पनि एक भन्दाबढी खालको अङ्ग्रेजी भाषा छ । 

अमेरिकामा केन्द्रिय अमेरिका र दक्षिण अमेरिका मूल भएका धेरैले उनीहरुको अभिभावक वा अघिको पुस्ताको भाषाको तत्वहरु अङ्ग्रेजीमा मिसाएर बोल्छन् ।

भाषा, संचारको माध्यमभन्दा केही बढी हो । यो पहिचानको अभिव्यक्ति पनि हो । यसले हामीलाई कुनै मानिसले आफूलाई के भन्न चाहन्छ त्यसको जानकारी दिन्छ । स्पाङ्गलिसमा लेख्ने सान फ्रान्सिस्कोका कवि जोसिया लुईस एलडेरेट यसलाई ‘प्रतिरोधको भाषा’ भन्छन् । उनका अनुसार यसले हिस्पानिक अमेरिकीहरुलाई अमेरिकामै जन्मिएर हुर्किएको भए पनि  उनीहरुको इतिहासमा गर्व गर्ने र त्यससँग जोडिने बाटो दिन्छ । 

अङ्ग्रेजीको विश्वमा अधिपत्य हुनुको कारण यो लामो समयदेखि विश्वशक्तिमा रहिरहेका बेलायत र पछि अमेरिकाको भाषा भएर हो । तर पछिल्लो समयमा चीनको आर्थिक शक्तिको उदयसँगै यो भाषाले चुनौती पाएको छ ।

यदी तपाई सब–साहारा क्षेत्रको महत्वकांक्षी युवक हुनुहुन्छ भने तपाईले स्कुलमा सिकेको अङ्ग्रजीमा भर परेर अमेरिका र बेलायतमा काम खोज्नुभन्दा चिनियाँ भाषा सिकेर चीनमा काम खोज्नु बढी उत्तम विकल्प हुनेछ । 

अमेरिकामै पनि चिनियाँ भाषाको अध्ययनमा बढोत्तरी भइरहेको छ । सन् २०१५ मा अमेरिकी स्कुलमा चिनिया भाषा छनौट गर्नेहरुको सङ्ख्या दुई वर्षभित्र दोब्बर भएको देखिएको थियो । कलेज स्तरमा विगत दशकमा यो सङ्ख्या ५०% ले बृद्धी भयो ।

तर विश्वको धेरै भागमा अङ्ग्रेजीलाई सफलतातर्फको भर्याङ्ग मानिन्छ ।

त्यसो भए इङ्लिसको भविष्य खतरामा छ त? कम्प्युटरकृत अनुवाद प्रविधि, हाइब्रिड भाषाको विस्तार र चीनको उदय सबैले साच्चैको चुनौती प्रस्तुत गरिरहेको छ । तर भावि दशकमा यसको विश्वव्यापी अधिपत्य कम होला तर भविष्यनै खतरामा भन्नु अपरिपक्व हुन्छ । अरु भाषा जस्तै यो पनि नयाँ परिवर्तन र नयाँ आवश्यकतामा निरन्तर समायोजन गरिरहेको छ । केही अघि सम्म ‘टेक्स्ट’ र ‘फ्रेण्ड’ जातिवाचक नाम थिए । तर यहिले ती शब्द क्रियाको रुपमा पनि प्रयोग हुन्छन् । यसको यही समायोजन हुने क्षमताले यसलाई लोकप्रिय बनाइराख्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप