भारत बस्दा तस्करसँग चिनजान, कमिसन विवादका कारण सूचना चुहिएपछि रक्तचन्दन बरामद
काठमाडौँ । करिब दुई सातादेखि काठमाडौँमा ल्याएर लुकाएको अवस्थामा प्रहरीले पेप्सीकोलाबाट रक्तचन्दन बरामद गर्यो । माघ १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा ज्ञान बहादुर तिमिल्सिनाको डेरामा साढे ४ क्विन्टल रक्तचन्दन भेटियो ।
४० वर्षीय तिमिल्सिना सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिका वडा नम्बर–८ का स्थानीय हुन् । उनी काठमाडौँ–३२ स्थित पेप्सीकोलामा बस्छन् ।
टुक्रा बनाएर १४ वटा बोरामा प्याक गरेर लुकाएको रक्तचन्दन सहित तिमिल्सिना पक्राउ परे । पक्राउपछि प्रहरीसँग उनले भने, ‘मैले राखिदिएको मात्र हुँ, रक्तचन्दन रमेश थापाले ल्याएका हुन् ।’
तिमिल्सिनाको बयानको आधारमा काठमाडौँ महानगरपालिका–१४ घर भएका रमेश थापा पनि पक्राउ परे । ४१ वर्षीय थापालाई भारतीय समूहले रक्तचन्दन पठाएको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘भारतीय समूहले पठाएको रक्तचन्दन थापाले वीरगन्जमा गएर काठमाडौँ ल्याएको देखिन्छ ।’
रक्तचन्दन चीनतर्फ पठाउने योजना तस्कर समूहले बनाएका थिए । रमेश पहिला भारतको बैंगलोरमा बस्दा उनले तस्कर समूहलाई चिनेका हुन् । बैंगलोरका तस्कर समूहले उनलाई ‘चिनियाँ नागरिकलाई दिनु’ भनेर रक्तचन्दन काठमाडौँमा पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘चिनियाँले रक्तचन्दनको पैसा भुक्तानी गरिसकेको देखिन्छ ।’
आफूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरको जाहेरी पर्न थालेपछि रमेश भारततर्फ फरार भएका थिए । त्यहाँ बस्दा चिनेका रक्तचन्दन कारोबारीले उनलाई कमिसन बापत ६ लाख दिने सर्तमा साढे ४ क्विन्टल रक्तचन्दन पठाए । तर, ६ लाख रकम उनले पाएका थिएनन् । ज्ञान बहादुर तिमिल्सिनालाई पनि उनले ८ लाख तिर्नुपर्ने थियो । जमानीबापत उनले रक्तचन्दन तिमिल्सिनाको डेरामा लुकाएका हुन् । रमेशले कमिसन नपाउने र ज्ञान बहादुरले पनि आफ्नो रकम फिर्ता नपाएपछि ‘विवाद’ बढ्दै जाँदा रक्तचन्दन लुकाएको सूचना चुहियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले त्यसबारे सुराक पाए । त्यसपछि उनीहरू पक्राउ परेका हुन् ।
रक्तचन्दन तौलिँदा ४ क्विन्टल ३१ केजी भएको छ । रमेशबाट माथिल्लो लेयरका अर्का एकजना नेपालीले रिसिभ गरेपछि चिनियाँलाई दिनेगरी कारोबारीहरुले संगठित रूपमा योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
एसपी आचार्यले भने, ‘संगठित रूपमा नै चीनमा पठाउने गरी कारोबार गरेको देखिन्छ ।’ रत्तचन्दनको मूल्य प्रतिकेजी ३५ सयदेखि ४ हजारसम्म पर्छ । आरोपीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी जिल्ला बन कार्यालय काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण