बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्याम्पियन्स ट्रफीअघि भारत–पाकिस्तान सम्बन्धबारे डकुमेन्ट्री

गांगुली भन्छन्, ‘शोएब अख्तरले हैरान पारेका थिए, यस्तो पनि फ्रेन्डशिप शृङ्खला हुन्छ !’
बिहीबार, १७ माघ २०८१, १० : ०२
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । एकदिवसीय विश्वकपपछिको दोस्रो ठुलो प्रतियोगिता च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदै छ । प्रतियोगिता आगामी फेब्रुअरी १९ देखि मार्च ९ सम्म सञ्चालन हुनेछ । 

भारतले भने च्याम्पियन्स ट्रफीमा आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ यूएईमा खेल्नेछ । प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तानी भूमिमा खेल्न अस्वीकार गरेपछि यूएईलाई सह–आयोजक बनाइएको हो । 

विश्व क्रिकेटमा भारत र पाकिस्तानलाई सबैभन्दा ठुलो प्रतिद्वन्द्वीका रूपमा लिइन्छ । यी दुई राष्ट्रबिच गतिलो राजनीति सम्बन्ध छैन । त्यसैले भारत र पाकिस्तानबिच लामो समयदेखि रहँदै आएको अप्रिय राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा पनि पर्ने गरेको छ । 

खेल मैदानमा देखिने राजनीतिक प्रभावका कारण नै यी दुई टोलीबिचको खेल हेर्न विश्वभरका क्रिकेटप्रेमी प्रतिक्षारत रहन्छन् । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणअघि पनि यसको असर प्रत्यक्ष रूपमा देख्न सकिन्छ । 

आगामी च्याम्पियन्स ट्रफीमा पनि भारत र पाकिस्तान एउटै समूहमा छन् । भारत र पाकिस्तानबिचको खेल फेब्रुअरी २३ मा दुबईमा खेलिने छ । च्याम्पियन्स ट्रफीअघि विश्व क्रिकेटमा भारत र पाकिस्तानको सम्बन्धलाई झल्काउने गरी नेटफ्लिक्सले एउटा क्रिकेट डकुमेन्ट्री शृङ्खला रिलिज गर्ने भएको छ । 

उक्त डकुमेन्ट्रीको नाम ‘दि ग्रेटेस्ट राइवलरी इन्डिया भर्सेस पाकिस्तान’ राखिएको छ । उक्त शृङ्खला फेब्रुअरी ७ तारिखमा रिलिज हुने समाचारमा जनाइएको छ । उक्त डकुमेन्ट्रीमा भारत र पाकिस्तान क्रिकेट मैदानमा हुने गतिविधि र घटनाहरुलाई समावेश गरिएको छ । 

भारत र पाकिस्तानबिच हालसम्म खेलिएका ठुला क्रिकेट प्रतियोगिता र महत्त्वपूर्ण घटनालाई पनि डकुमेन्ट्रीमा रोचक तरिकाले प्रस्तुत गरिएको छ । उक्त डकुमेन्ट्रीमा भारतीय टोलीका पूर्वकप्तान सौरव गांगुलीले सन् १९९६ मा भारत र पाकिस्तानबिच खेलिएको फ्रेन्डशिप कपको स्मरण गरेका छन् । 

त्यतिबेला फ्रेन्डशित कपका क्रममा भारत र पाकिस्तानबिच क्यानडामा पाँचवटा एकदिवसीय खेलको शृङ्खला खेलिएको थियो । 

डकुमेन्ट्रीमा त्यो क्षणलाई सम्झदै गांगुलीले ठट्यौली पारामा भनेका छन्, ‘के को फ्रेन्डशित शृङ्खला हुन्थ्यो । नाम मात्रको फ्रेन्डशिप ! खेलमा शोएब अख्तरले १५० किलोमिटर प्रति घण्टाको गतिमा बल फालेर हैरान पारेका थिए । यस्तो पनि फ्रेन्डशिप शृङ्खला हुन्छ !’ 

त्यसको जवाफमा रावलपिन्डी एक्सप्रेस सोएब अख्तरले सौरभ गांगुलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘दादा, तपाईँ उत्कृष्ट हुनुहुन्छ । तपाईँ बिना भारतीय क्रिकेट जहिले पनि अधुरो रहने छ ।’

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप