लगातार दोस्रो खेलमा नेपालको हार
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो ।
नेपालले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । टोलीलाई जित दिलाउन नानापट कोंचारोएंकाईले नटआउट रहँदै अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५८ बलमा ६० रन जोडिन् ।
सुवानान खियाटोले १० बलमा १४ रन बनाइन् भने कप्तान नारुएमोल चाईवाईले २१ बलमा १३ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि मनिषा उपाध्यायले २ विकेट तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक–एक विकेट हात पारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो ।
खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । दोस्रो बलमा नै सम्झना खड्का खाता नै नखोली आउट हुन पुगिन् ।
अर्की ओपनर ममता चौधरी पनि धेरै समय टिक्न सकिनन् । उनी २ रन बनाउँदै आउट हुँदा नेपालले ११ रन मात्र बनाउन सकेको थियो ।
तेस्रो विकेटका रूपमा कप्तान इन्दु वर्मा आउट भइन् । उनले १७ बलमा १५ रन जोडिन् । उनले २ चौका प्रहार गरिन् ।
पूजा महतो र रुविना क्षेत्री पनि लामो समय टिक्न सकेनन् । महतो ६ रन तथा क्षेत्री ४ रन जोड्दै पभेलियन फर्किए । यतिबेला नेपालले ४० रनमा ५ विकेट गुमाइसकेको थियो ।
त्यसपछि कविता कुँवर र बिन्दु रावलले नेपालको इनिङ्स सम्हाले । १७ औँ ओभरमा ८४ रनको स्कोरमा रावल बोल्ड हुन पुगिन् । उनले २५ बलमा २५ रन जोडिन् । यसक्रममा उनले ३ चौका हिर्काइन् ।
लगत्तै कुँवर पनि स्कुप सट खेल्ने प्रयास गर्दा बोल्ड भइन् । उनले ३२ बलमा २५ रन जोडिन् । उनले २ चौका हिर्काइन् ।
सीता रानामगर पनि ४ बल मात्र टिकिन् । उनले दुई रन बनाइन् । खेलको अन्तिम ओभरमा कविता जोशी ९ बलमा ८ रन जोड्दै क्याच आउट भइन् । उनले एक छक्का प्रहार गरिन् ।
थाइल्याण्डका लागि थिपाट्चा पुथावोङले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ३ विकेट लिइन् । फानिता माया र नाटाया बोचाथामले २–२ विकेट तथा चानिदा सुथिरुवाङले १ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण