म हिरो हैन, समाजको चरित्र हो : विजय बराल

काठमाडौँ । अभिनेता विजय बरालले आफू फिल्मको हिरो नभएर समाजको चरित्र भएको बताएका छन् । राजधानीमा जारी ह्वाइट हाउस लिट्रेचर फेस्टिबलमा उनले भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।’
पूर्णबहादुरको सारङ्गीबाट मुख्य भूमिकामा आएका उनले पहिलो फिल्मै अत्यधिक सफलता हात पारे । अभिनय जन्म जातै हुने बताएका उनले अभिनयलाई पढाइले निखारता ल्याउने धारणा राखे । ‘हरेक कुरा अवलोकन गरेर त्यसैको नक्कल गर्नु नै अभिनय हो तर त्यसलाई भावमा रूपान्तरण गर्नुपर्छ’ उनले भने ।
उनले अभिनय पनि एक जनरा भएको बताए । उनले अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहेको बताए । आफ्नो फिल्म पूर्णबहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यही रहेको उनको भनाई छ ।
पहिले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई दोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए । उनले भने, ‘सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भूमिकामा जिम्मेवारी बोध र दबाब महसुस हुने रहेछ ।’
उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए ।