साना जलविद्युत् आयोजना : राष्ट्रिय प्रसारण लाइनमा जोडेर आम्दानी बढाउँदै
बुटवल । पाल्पाको माथागढी गाउँपालिका–५, घाडाकुनाका ओम प्रकाश बाकावल मगरले २०७२ सालसम्म हरेक साँझ घरमा टुकी तथा लालटिन बाल्नु पर्दथ्यो ।
घाडाकुनामात्रै होइन, हात्तीलुङ्ग, दमार, माथा गाउँमा त्यतिबेलासम्म विद्युत् उपलब्ध थिएन । त्यसैले हरेक घरमा साँझ टुकी तथा लालटिनको सहारा लिनु पर्दथ्यो ।
राष्ट्रिय प्रसारण लाइन आउन ढिला हुने भएपछि प्रकाश बाकावल मगरजस्ता स्थानीय मिलेर पाल्पाको माथागढी गाउँपालिका–५, हात्तीलुङ्गमा झुम्सा तेस्रो लघु जलविद्युत् आयोजना निर्माण गरेका थिए ।
स्थानीय उपभोक्ताले सञ्चालन गरेको उक्त आयोजनालाई २०७९ सालमा जल उपभोक्ता सहकारीमा परिणत गरिएको थियो । झुम्सा तेस्रो लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् माथागढी गाउँपालिका–५ का ५२० घरधुरीमा खपत गर्ने र बाँकी रहेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको उक्त आयोजनाका सचिव रमेश रेस्मी मगरले रातोपाटीलाई बताए । यसबाट मासिक आम्दानीसमेत भइरहेको उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणसँग ६ रुपैयाँ प्रतियुनिट पाउने गरी झुम्सा तेस्रो जल विद्युत् आयोजनाले सम्झौता गरेको छ ।
हालै ६० हजार रुपैयाँ नेपाल विद्युत् प्राधिकरणले पठाएको छ । अब मासिक दुई लाखभन्दा माथि आउने गरी विद्युत् उत्पादन हुने रेस्मी मगरको भनाइ छ ।
उनले भने, ‘अहिले पहिरोले कुलो भत्काएको छ, अब त्यो मर्मत हुना साथ पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ र आम्दानी पनि स्वतः बढ्छ ।’
_Q8gfRoR120.jpg)
उक्त आयोजनाको खल्लाघाटमा रहेको पावर हाउसबाट ६८ किलोवाट विद्युत् उत्पादन भएको छ । झुम्सा लघु जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर बाह्रघरेले स्थानीयवासीले ३०/४० किलोवाट मात्रै खपत गर्ने र बाँकी राष्ट्रिय प्रसारण लाइनमा जाने बताए ।
झुस्साको विद्युत् ग्रीड लाइन जडान गर्न लागेको खर्चमध्ये दिगो ऊर्जा चुनौती कोषले ५० लाख रुपैया दिएको थियो । स्थानीय तहले ३० लाख र अन्य उपभोक्ता सहकारी समितिको खर्चमा यो निर्माण भएको अध्यक्ष बाह्रघरेले बताए ।
विगतमा दुःख गरेर आफ्नो घरमा बत्ती बाल्न सञ्चालन गरेको आयोजना आज राष्ट्रिय प्रसारण लाइनमा जडान गरेर केही रकम आउने भएपछि स्थानीय उपभोक्ताहरू उत्साहित भएको उक्त जलविद्युत आयोजनाका व्यवस्थापक लालुराम सारूले बताए ।
_CFhDXtpkyU.jpg)
लुम्बिनी प्रदेश गरिएको अध्ययन अनुसार १७ वटा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइन जोड्न मिल्छ । जस अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यो पहिलो भएको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम लुम्बिनी प्रदेश संयोजक इन्जिनियर रोविन शर्माले रातोपाटीलाई बताए ।
उनले अब गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित दराम खोला लघु जलविद्युत् आयोजना पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको जानकारी दिए । अन्य आयोजनाहरूको अध्ययन सकिएकाले अब जडानको प्रक्रियामा लैजाने तयारी भइरहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश ऊर्जा कार्यालय प्रमुख इन्जिनियर जेबी थापाले लुम्बिनी प्रदेशमा १० किलोवाटभन्दा माथिका १५ वटा आयोजनाहरूलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने नीति रहेको बताए ।
सोलारको प्रयोग पनि बढ्दो

रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको माउन्ट एभरेस्ट कत्था उद्योगको छतमा सोलारका ठुलाठुला पाता राखिएको छ ।
उक्त पाताबाट ३५६ किलोवाट विद्युत् उत्पादन हुने क्षमता छ । उक्त उद्योग सिजनमा चल्छ । बाँकी समयको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । उद्योगका सञ्चालक कुमार रोक्का क्षेत्रीले नेपाल विद्युत प्राधिकरणसँग प्रतियुनिट ५ रुपैयाँ ९४ पैसामा विद्युत् बिक्री गर्ने सम्झौता गरेको बताए ।
भैरहवाको घराना आँटा उद्योगले पनि गत वर्षदेखि सोलार जडान गरेको छ । गहुँ प्रशोधन गरेर आँटा, मैदा, चोकर लगायत विभिन्न बस्तु उत्पादन गर्दै आएको उद्योगले दिगो ऊर्जा चुनौती कोषको मद्दतले सोलार जडान गरेको हो ।
उक्त कम्पनीका सञ्चालक विनय गोयन्काले उद्योगको लागि ७ सय केभीए विद्युत् आवश्यक पर्ने भए पनि अहिले सुरुमा एक सय केभीएको सोलार जडान गरेको बताए । आफ्नो उद्योगमा खपत नभएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्दा मासिक ७० हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ ।
दिगो ऊर्जा चुनौती कोषले उद्योगीहरूले सोलार जडान गर्दा लिएको लोनको व्याजमा ५० प्रतिशत तिरिदिने गरेको छ ।
नेपाल नविकरणीय ऊर्जा कार्यक्रम लुम्बिनी प्रदेश संयोजक रोविन शर्माले हाल रुपन्देही र नवलपरासीमा उक्त कार्यक्रम मार्फत ९ वटा उद्योगले सोलर जडान गरेको जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण