अस्ट्रेलियाको ७ सहरमा गुन्जँदै नेपथ्य
काठमाडौँ । नेपथ्यले अस्ट्रेलियाको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले सात वटा अस्ट्रेलियाली सहरहरूमा आफूलाई प्रस्तुत गर्नेछ । आगामी मार्च महिनाको ३ तारिख सङ्घीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सकिनेछ । त्यसबिच ब्यान्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफूलाई उभ्याउने छ ।
नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई लोक रकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड नेपथ्यको यो सातौँ अस्ट्रेलिया यात्रा शृङ्खला हो ।
‘नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुति दिँदै आएको भएता पनि ब्यान्डलाई विशिष्ट कलेवरमा पहिलो पटक उभ्याउने काम अस्ट्रेलियाले गरेको थियो,’ गायक एवं अगुवा अमृत गुरुङले भने, ‘त्यहाँका श्रोता दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविस्मरणीय छाप छोड्दै आएको छ ।’
अस्ट्रेलियाको यात्रामा यसपटक ६ जना ब्यान्डका सदस्य र आठ जना प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ । यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेशनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’ मा आयोजना हुनेछ ।
त्यसको ६ दिनपछि अर्थात् मार्च महिनाको ९ तारिख पर्थको ‘मेट्रो सिटी’ मा नेपाली लोकरकको चीर परिचित स्वर गुञ्जिनेछ । यो सहर वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी हो । मुलुककै पश्चिमी किनारामा यसरी प्रस्तुत हुनासाथ ब्यान्ड फेरि पूर्वी किनाराको ब्रिस्बेन पुग्नेछ । क्विन्स्ल्याण्ड राज्यको यो राजधानीस्थित ‘दी टिभोली’ हलमा मार्चको १४ तारिख प्रस्तुति रहनेछ । त्यसको लगत्तै टोली दक्षिणवर्ती टापु तास्मानियाको यात्रामा हिँड्नेछ । राजधानी होबार्टस्थित ‘ओडिअन थिएटर’ मा मार्च १८ तारिख नेपथ्यका गीतहरू सुनाइनेछन् ।
पाँचौँ प्रस्तुति भने साउथ अस्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुनेछ । मार्च २१ तरिखका दिन त्यहाँस्थित ‘हिण्ड्ले स्ट्रिट म्यूजिक हल’ मा ब्यान्डले प्रस्तुति दिनेछ । त्यस लगत्तैको कन्सर्टका लागि ब्यान्ड भिक्टोरिया राज्यको राजधानी मेलबर्न पुग्नेछ । मार्च २४ तारिखका दिन त्यहाँस्थित ‘फेस्टिभल हल’ मा नेपथ्यले आफूलाई उभ्याउनेछ । त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलाद्र्धमै ब्यान्डका सबैभन्दा धेरै प्रशंसकहरूले भरिएको सहर सिड्नीको हुनेछ ।
मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् । नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्यान्डसँग नेपालय आबद्ध भएको यो २५ औँ वर्ष पनि हो । यसबिच ब्यान्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफूलाई उभ्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण