अस्ट्रेलिया लगातार दोस्रोपटक च्याम्पियन बनेको छैटौँ संस्करण
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको छैटौँ संस्करण अफ्रिकी महादेशमा आयोजना भएको थियो । प्रतियोगिताको छैटौँ संस्करण सन् २००९ को सेप्टेम्बर २२ देखि अक्टोबर ५ तारिखसम्म दक्षिण अफ्रिकामा सञ्चालन भएको थियो ।
अफ्रिकी महादेशमा च्याम्पियन्स ट्रफी आयोजना भएको यो दोस्रो पटक थियो । त्यसअघि प्रतियोगिताको दोस्रो संस्करण अफ्रिकी राष्ट्र केन्यामा आयोजना गरिएको थियो । च्यापियन्स ट्रफीमा सहभागी हुने टोलीको सङ्ख्या प्रत्येक संस्करणमा थप–घट भइरहन्छ ।
छैटौँ संस्करणको सबैभन्दा रमाइलो पक्ष के थियो भने, यो संस्करणमा टोलीको सङ्ख्या घटाएर आठमा झारिएको थियो । यसअघिको संस्करणमा १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको पहिलो संस्करणमा पनि आठ टोलीले मात्र भाग लिएका थिए ।
खासमा छैटौँ संस्करण सन् २००८ मा पाकिस्तानमा आयोजना तय भएको थियो । तर, पाकिस्तानमा अपर्याप्त सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सन् २००९ मा आयोजना गर्ने गरी दक्षिण अफ्रिकामा सारिएको थियो ।
यो संस्करणसँग अर्को एउटा रमाइलो पक्ष पनि जोडिएको छ । यसअघिका हरेक संस्करण दुई–दुई वर्षको अन्तरालमा आयोजना गरिएको थियो । तर, पाँचौँ र छैटौँ संस्करणको बिचमा भने तीन वर्षको अन्तर रहन पुग्यो ।
छैटौँ संस्करणका खेल दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्क स्टेडियम र जोहानेशवर्गस्थित वान्डरर्स स्टेडियममा खेलाइएको थियो । प्रारम्भिक चरणमा प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, पाकिस्तान, भारत र वेस्ट इन्डिज रहेका थिए । समूह ‘बी’ मा भने न्युजिल्यान्ड, इङ्ल्यान्ड, श्रीलंका र आयोजक दक्षिण अफ्रिका परेका थिए । प्रत्येक समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको थियो ।
सोही अनुसार, समूह ‘ए’ बाट अस्ट्रेलिया पहिलो र पाकिस्तान दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । अस्ट्रेलियाले पाँच र पाकिस्तानले चार अंक जोडेका थिए । तीन खेलबाट तीन अंक बटुल्दै तेस्रो भएको भारत र तीनवटै खेलमा पराजित भएको वेस्ट इन्डिज भने समूहगत चरणबाटै घर फर्किएका थिए ।
यसैगरी, समूह ‘बी’ बाट चार अंकसहित न्युजिल्यान्ड पहिलो र समान अंक बटुलेको इङ्ल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । दुई–दुई अंकसहित क्रमशः तेस्रो र चौथो भएका श्रीलंका र दक्षिण अफ्रिका भने समूहगत चरणबाटै बाहिरिएका थिए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई नौ विकेटले र दोस्रो सेमिफाइनल खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएका थिए । त्यसपछि फाइनल खेलमा अस्ट्रेलियाले छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
अस्ट्रेलियाले जितेको यो दोस्रो च्याम्पियन्स ट्रफी उपाधि थियो । यसका अतिरिक्त अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि चुम्ने पहिलो टोली पनि बनेको थियो । लगातार मात्र होइन, यसअघि कुनै पनि टोलीले दुईपटक उपाधि जित्न सकेको थिएन ।
च्याम्पियन्स ट्रफीको यही संस्करणमार्फत वेस्ट इन्डिजका चाडविक वाल्टन, वेस्ट इन्डिजकै रोयस्टोन क्रान्डन, इङ्ल्यान्डका स्टिभन डेभिस र न्युजिल्यान्डका एरोन रेडमन्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

यसैगरी, भारतका चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीका लागि पनि यो संस्करण विशेष थियो । आफ्नो समयका प्रभावशाली खेलाडी धोनीले च्याम्पियन्स ट्रफीको यही संस्करणमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका थिए ।
छैटौँ संस्करणमा अस्ट्रेलियाका ब्याट्सम्यान रिकी पोन्टिङ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका थिए । उनले पाँच खेलमा कुल दुई सय ८८ रन बनाएका थिए । अस्ट्रेलियाकै शेन वाट्शन पाँच खेलमा कुल दुई सय ६६ रन बनाउँदै दोस्रो स्थानमा रहेका थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दक्षिण अफ्रिकाका ग्रेह्म स्मिथ (२०६ रन) तेस्रो, इङ्ल्यान्डका पल कोलिङउड (२०२ रन) चौथो र पाकिस्तानका मोहम्मद युसुफ (२०० रन) पाँचौँ स्थानमा रहेका थिए ।
सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा भने दक्षिण अफ्रिका वेयन पार्नेल पहिलो स्थानमा थिए । उनले तीन खेलमा ११ विकेट लिएका थिए । इङ्ल्यान्डका स्टुअर्ट ब्रोडले तीन खेलमा १० विकेट, न्युजिल्यान्डका कायले मिल्सले पाँच खेलमा नौ विकेट, पाकिस्तानमा सइद अजमलले चार खेलमा आठ विकेट र भारतका आशिष नेहराले तीन खेलमा आठ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण