स्वाइन फिभर रोग पशुबाट मानिसलाई सर्छ ?
काठमाडौँ । अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा नसर्ने पशु सेवा विभागले जनाएको छ ।
विभागका अनुसार नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएपश्चात् देशका २८ जिल्लाका विभिन्न स्थानहरूमा सङ्क्रमण देखापरी जैविक सुरक्षाको विधि अवलम्बन, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसार पसारमा निगरानी, सर्भिलेन्स, सचेतनाका कार्यक्रमहरू सञ्चालन गरी नियन्त्रण गरिएको थियो ।
लक्षण कस्तो हुन्छ ?
अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फरेनहाईट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, लडखडाउने, तुहिने जस्ता लक्षणहरू देखा पर्ने विभागले जनाएको छ । यसका साथै सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन् ।
फैलिने माध्यम
अफ्रिकन स्वाइन फिभर रोग सङ्क्रमित पशुबाट अर्को पशुमा सर्ने विभागले जनाएको छ । विशेषगरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरूको लसपस वा ओसारपसारबाट फैलन गर्दछ ।
उपचार छ त ?
अफ्रिकन स्वाइन फिभर रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध नरहेको विभागले उल्लेख गरेको छ । विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्याउन सिफारिस गरेको छ ।
मुलुकमा यो रोगको सङ्क्रमण देखापरेको सन्दर्भमा देशको कुनै पनि स्थानमा ठूलो सङ्ख्यामा बङ्गुर मरेमा वा माथिका लक्षण देखा परेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा जानकारी गराउन विभागको आग्रह छ । यसका साथै पशुमा यो रोग लाग्न नदिन यी उपाय अपनाउन सकिन्छ:
–फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने।
–बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधीहरू प्रयोग गरी निःसङ्क्रमण गर्ने ।
–रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने ।
–मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने ।
–घरपालुवा सुँगुर, बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने ।
–रोग देखा परेको क्षेत्रबाट सुँगुर प्रजाति/पाठापाठी, सङ्क्रमित मासु र दानाको ओसार पसार नगर्ने/नगराउने ।
–कुनै पनि बिरामी सुँगुर, बङ्गुर, बँदेल मासुका लागि वध नगरौँ ।
–अनिवार्य रूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर बङ्गुर वा मासुको ओसारपसार गर्ने/गराउने ।
–सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने ।
–तयारी दाना बाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर मात्र खुवाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण