बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रवि थापा मृत्यु प्रकरण

मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’

‘परिवार मिलेर बस्नू, बुवाको ख्याल राख्नू’
बुधबार, १४ फागुन २०८१, १७ : ००
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ मा काठमाडौँको कलंकीमा अचेत अवस्थामा भेटिए । धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा साथीको डेरामा अचेत अवस्थामा फेला परेका हुन् । 

उपचारको क्रममा त्यसै दिन साँझ कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उनको मृत्यु भयो । जहाँ उनी अचेत भेटिएका थिए, सो डेरा धुनिवेशी–८ घर भएका शिव कुँवरको हो । 

घटनास्थलमा गहुँलाई किराबाट जोगाउन प्रयोग गरिने चक्की (विषादी)को प्याकेट र सुसाइड नोट भेटिएको छ । एक पेज लामो सुसाइड नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

सुसाइड नोटमा थापाले एउटा साप्ताहिक पत्रिकामा आफ्नो अडियो प्रसारण गरिएको र त्यसबाट आफूलाई टर्चर भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मेरो प्रतिष्ठा खराब भयो, मानहानि भएको छ ।’ 

अडियो प्रसारण गर्ने पत्रिकाको सम्पादकलाई प्रहरीले ‘सोधपुछ’को लागि बोलाउने भएको छ । सो पत्रिकाले चरित्रहत्या गरेको रविले नोटमा लेखेका छन् । 

थापाको सुमेरु बचत तथा ऋण सहकारीका पूर्व सचिव विनोद आचार्यसँगको अडियो बाहिरिएको थियो । सुमेरुलाई पुस २८ मा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ । 

गिरोहले आफ्नो स्वर ‘बनाएर’ अफवाह फैलाएको उनले आफ्नो नोटमा जिकिर गरेका छन् । नोटमा भनिएको छ,‘मेरो स्वर बनाएर अफवाह फैलाए, मन्त्री (मदुकुमार श्रेष्ठ)लाई पनि बदनाम गराए ।’ 

मृतक थापाले आफू र मन्त्री समेतलाई फसाउने खेल भएको जिकिर गर्दै सत्य नलुक्ने उल्लेख गरेका छन् । नोटमा लेखिएको छ, ‘सत्य लुक्दैन । 

उनले परिवारका सदस्यहरूलाई राम्रोसँग बस्न आग्रह गरेका छन् । नोटमा उल्लेख छ, ‘बुवाको ख्याल गर्नु, सबै मिलेर बस्नु ।’ 

नोटमा थप भनिएको छ, ‘एक्कासि नभएको कामलाई फैलाएर मैले गरेको जस्तो बनाएका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप