लक्ष्यअनुसार धान किन्न खाद्य कम्पनी असफल
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान खरिद गर्न असफल भएको छ । देशभरबाट कम्पनीले यो वर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर हालसम्म १ लाख १८ हजार ८ सय २० क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ ।
यो परिमाणमा धान खरिद गर्दा साढे दुई अर्ब बढी रकम खर्च हुने अनुमान गरेको थियो । हालसम्म कम्पनीले देशभरबाट धान खरिद गर्दा ४१ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ ।
देशभरका कम्पनीले ९ वटा शाखाबाट धान खरिद गरेको हो । कम्पनीले धान खरिदमा आफ्नो लक्ष्य पूरा गर्न नसके पनि सरकारको उद्देश्य पूरा भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । ‘निजी कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा किसानसँग धान खरिद गरेका छन्,’ भनिन्, ‘हाम्रो टार्गेट पूरा भएन, सरकारको लक्ष्य पूरा भयो ।’
सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनुपर्ने उद्देश्यले कम्पनीले धान खरिद गर्ने गरेको छ । कम्पनीले तुलसीपुर, महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, पोखरा, वीरगन्ज, जनकपुर र लहान स्थानबाट धान खरिद गरेको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरिएको उनको तर्क छ ।
चालु आव ०८१/८२ का लागि सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, मध्यम धान प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । सो मूल्यमा धान खरिद गरिएको सुवेदीले रातोपाटीलाई जानकारी गराइन् । उनले भनिन्, ‘सोही मूल्यमा निजी पक्षले पनि धान खरिद गरेकाले हामीले लक्ष्य प्राप्त गर्न नसकेका हौँ ।’
सरकारले यो वर्ष धानको समर्थन मूल्य समयमा निर्धारण गरेर किसानले धानको मूल्य पाएको सरोकारवालाले दाबी गर्दै आएका छन् । खाद्य कम्पनीले धान खरिद गर्दा यो वर्ष पनि किसानले धानको राम्रो मूल्य पाएको दाबी गरेको छ ।
कुन धान कति खरिद ?
कम्पनीले सोना मन्सुली, जेठो बुढो, मोटा र मध्यम धान खरिद गरेको छ । लहान, जनकपुर, वीरगञ्जबाट सोना मन्सुली धान खरिद गरेको हो । ९ हजार ६ सय ३९.४८ क्विटल सोनामन्सुली धान कम्पनीले खरिद गरेको हो ।

पोखराबाट ७.३०५ क्विटल जेठो बुढा धान खरिद गरेको हो । यस्तै, तुलसीपुर, महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्जबाट मोटा धान खरिद गरेको छ । यी क्षेत्रबाट ८४ हजार ८००. ६५ क्विटल धान खरिद गरेको छ ।
राजापुरबाट मध्यम धान २४ हजार ३७२.६४ क्विन्टल खरिद गरेको कम्पनीले जनाएको छ । देशभरबाट १ लाख १८ हजार ८ सय २० क्विन्टल धान खरिद गरेको हो ।
चालु आर्थिक वर्षको धान खरिद विवरण:

चामल खरिद गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान खरिद गर्न नसक्दा चामल खरिद गर्ने तयारी गरेको छ । मौज्दात र आवश्यकताका आधारमा चामल खरिद गरिने कम्पनीले जनाएको छ । खाद्यले किनेको धान नपुग्ने भएपछि चामल खरिद गरिने सूचना अधिकारी न्यौपानेले बताइन् । उनले भनिन्, ‘अवस्था हेरर चामल खरिद गर्नेछौँ ।’
यो वर्ष धानको उत्पादन कति ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । तर धानको उत्पादन भने बढ्दो क्रममा छ । पछिल्लो पाँच वर्षमा धानबाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको छ । तर उत्पादन भने ३ लाख मेट्रिक टनले बढेको छ ।
चालु आर्थिक वर्ष (०८१/८२) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान कृषि मन्त्रालयको छ । यो उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो ।

धान लगाइएको क्षेत्रफलमा सामान्य कमी आए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढेको मन्त्रालयको दाबी छ । वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो ।
धान बालीको क्षेत्रफल घट्नु तर उत्पादन बढ्नुमा सक्रिय मनसुन, रासायनिक मलको उपलब्धता, उन्नत तथा विकासे जातको प्रयोगलगायत कारण रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. मतिना जोशी वैद्यले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण