नारी दिवसमा धेरै लेख अब पुरुषबाट लेखिनुपर्छ
हरेक वर्षजस्तै अन्तर्राष्ट्रिय नारी दिवस फेरि पनि आइसक्यो । गत वर्ष महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ विश्वभरि विभिन्न सभा सम्मेलन र कार्यक्रमहरू गरेर मनाइएको नारी दिवसले हाम्रो समाजलाइ कतिको सभ्य र समुन्नत बनायो, त्यो हामीले देखिरहेकै छौँ ।
मलाई महिलासम्बन्धी लेखहरू पढ्न विशेष रुचि लाग्छ । हरेक वर्ष नारी दिवसको अवसरमा लेखिएका लेखहरू पढ्दा उस्तै–उस्तै लाग्छन् । अघिल्ला वर्षका भन्दा खासै फरक विषयवस्तुमा लेखिएको भेटिँदैन । एक–दुईवटा बाहेक अधिकांश लेखहरू महिलाहरूद्वारा नै लेखिन्छन् । महिला आन्दोलन कहिलेबाट सुरु भयो, किन सुरु भयो, महिला आरक्षण, महिलाको क्षमता, महिला हिंसा, बलात्कार एवं विभिन्न समयमा महिला हकहितका लागि खोलिएका संघ–संगठनका बारेमा प्रायः रचनाहरू केन्द्रित हुने गर्छन् ।
२०८१ सालमा ‘कार्यहरूलाई गति दिऔँ’ भन्ने नाराका साथ नारी दिवस मनाइँदै छ । महिलाहरूको शिक्षा, रोजगारी र नेतृत्व क्षमता विकासमा समतामूलक रणनीति बनाइनुपर्ने कुरालाई यो नाराले सम्बोधन गर्न खोजेको देखिन्छ ।
नेपालको संविधानमा महिला हकहित सम्बन्धी जे जस्तो व्यवस्था भए पनि समाजमा महिला हिंसा कम नहुनु र क्षमतावान् महिलाले पनि समाजमा सोचे जति योगदान दिन नसक्नुको कारण के होला ? महिलाको सिर्जनशीलता र क्षमता नदेखिनुको कारण के होला ? राजनीतिक निकायहरूमा ३३ प्रतिशत क्षमतावान् महिला समावेश गर्न नसकिएको किन होला ? हामीले राजनीतिमा महिलाको पहँुचको विषयलाई उठाउँदै गर्दा यसको भित्री जरा पत्ता लगाउने कोसिस गर्नुपर्छ ।
सामाजिक र राजनीतिक रूपमा सफल महिलाहरू अधिकांश कि त अविवाहित, कि त श्रीमान गुमाएका, कि त सम्बन्धविच्छेद भएका भेटिन्छन् । किनभने उनीहरू स्वयं आफ्नो बारेमा निर्णय लिन सक्छन् । थोरै मात्र सफल महिला होलान् जो श्रीमान्को साथ र सहयोगले सफल बनेका छन् ।
महिलाका कार्यलाई गति दिनका लागि हरेक घरले, विशेष गरी हरेक घरका पुरुषहरूले समानता र समताको परिभाषा बुझेर त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ । त्यसपछि मात्र घर, समाज गर्दै समग्र राष्ट्र समुन्नत बन्न सक्छ । यो लेख्दै गर्दा महिलासम्बन्धी हाम्रो सनातन धर्मले गरेको व्याख्यालाई यहाँ जस्ताको तस्तै उतार्न मन लाग्यो ।
स्त्रीयों यत्र न पूज्यन्तृ रमन्ते तत्र देवता: ।
अपूजिताश्च यत्रैचाः सर्वास्तत्रापफलाः क्रिया ।
तदा चैतत् कुलं नास्ति यदा शोचन्ति जामयः ।।
जामी शप्तानी गोपानी निकृत्तानीव कृत्यया ।
नैव भान्ति न वद्र्वन्ते श्रियाहिनानी पार्थिव: ।।
जहाँ स्त्रीहरूको आदर सत्कार हुन्छ, त्यहाँ देवताहरू प्रशन्नतापूर्वक बास गर्छन् । जहाँ स्त्रीहरूको अनादर हुन्छ, त्यहाँँ गरिएका सारा कामहरू निष्फल हुन्छन् अनि त्यो कुलको नाश हुन्छ । उनीहरू खिन्न भएर जुन घरलाई श्राप दिन्छन्, उनीहरूले दिएको श्रापले त्यो घर उजाड हुन्छ । यस्तो श्रीहीन घरको कहिल्यै शोभा हुँदैन ।
अहिले यी भनाइको खिसिट्युरी गरिन्छ । महिलालाई प्रकृतिले असीमित शक्ति दिएर पठाएको छ तर महिलाको शारीरिक संरचना र कठिनाइहरूको फाइदा उठाउँदै उनीहरूको क्षमता खुम्च्याउने, उनीहरूको योगदानलाई महत्त्व तथा सम्मान नदिने जुन किसिमको सोचको विकास भइरहेको छ, त्यो नै महिला विकासको बाधक हो ।
आफ्ना क्षमताहरू मारेर सन्तानको र श्रीमान्को प्रगतिमा आफूलाई समर्पित गर्ने आमा र श्रीमतीहरूको योगदानको कदर गर्दै कुनै छोरा र श्रीमान्हरूले नारी दिवसको दिन धन्यवाद दिएको देखिँदैन ।
हाम्रो समाजमा विवाहपश्चात् अधिकांश छोरीका विचार र क्षमता खुम्चिन्छन् । उनीहरूको जीवनको प्राथमिकता बदलिन्छन् । घरको सरसफाइ गर्नु, खाना बनाउनु, लुगा धुनु प्राथमिकतामा पर्छन् भने जागिर र व्यवसाय दोस्रोमा पर्छन् । राजनीति त झन् कता हो कता । घर–परिवार अवश्य पनि महत्त्वपूर्ण कुरा हो तर यी सबै महिलाको मात्र जिम्मेवारी हो भन्ने सोचका कारणले महिलाको क्षमता उजागर हुन नसकेको हो । पुरुषलाई आफ्नो क्षमता विकासमा कुनै कुराले बाधा पुर्याउँदैन । उसले आफूले चाहेको कामको योजना बनाउन सक्छ र कार्यान्वयन गर्न सक्छ । महिलाको हकमा भने उनले घरको सम्पूर्ण काम सकेर आफ्नो व्यक्तिगत र पेसागत विकासमा संलग्न हुन पाउँछिन्, त्यो पनि श्रीमान्को अनुमति भए मात्र । यसो हेर्दा होइन जस्तो लाग्छ तर अधिकांश सम्पन्न र शिक्षित भनिएको परिवारमा पनि महिलाको अवस्था यस्तै छ ।
हामीले देखेका छौँ कि सामाजिक र राजनीतिक रूपमा सफल महिलाहरू अधिकांश कि त अविवाहित, कि त श्रीमान गुमाएका, कि त सम्बन्धविच्छेद भएका भेटिन्छन् । किनभने उनीहरू स्वयं आफ्नो बारेमा निर्णय लिन सक्छन् । थोरै मात्र सफल महिला होलान् जो श्रीमान्को साथ र सहयोगले सफल बनेका छन् । नत्र परिवार र आफ्नो व्यक्तिगत विकास रोज्ने स्थिति आउँदा महिलाको प्राथमिकतामा परिवार नै पर्छ । अधिकांश महिलाहरू परिवारमा सम्बन्ध बिगारेर बाहिर निस्किन चाहँदैनन् । यही क्रम चल्दाचल्दा महिलाले आफूभित्र के कस्तो क्षमता छ भन्ने पनि बिर्सिन थाल्छन् । यस्तो अवस्थामा कसरी महिलाबाट पुरुषसरह राजनीतिक चेतना र सहभागिताको आशा गर्न सकिन्छ ?
कुनै महिलाका बारेमा केही नकारात्मक कुरा आयो भने सत्यतथ्य नबुझी त्यसलाई मलजल गर्ने किसिमले सामाजिक सञ्जालमा कति छिटो छ्यापछ्याप्ती पोस्टहरू आउँछन् तर आफ्ना क्षमताहरू मारेर सन्तानको र श्रीमान्को प्रगतिमा आफूलाई समर्पित गर्ने आमा र श्रीमतीहरूको योगदानको कदर गर्दै कुनै छोरा र श्रीमान्हरूले नारी दिवसको दिन धन्यवाद दिएको देखिँदैन । यो भनेको परिवारमा महिलाको काम र कर्तव्यको कदर नहुनु हो, महिलाको योगदानको महत्त्व नबुझ्नु हो । यो कुरा हेर्दा सामान्य लाग्न सक्छ तर समाज परिवतर्नका लागि सामाजिक सञ्जालमा यस्ता अभिव्यक्ति महत्त्वपूर्ण कडी बन्न सक्छन् ।
श्रीमान्–श्रीमती दिनभरि कार्यालयमा काम गरेर घर फर्किंदा श्रीमतीलाई मात्र घरायसी कामको चापले पोल्छ । हरेक चाडपर्वहरू आउँदा भ्याइनभ्याई कार्यालय र घर व्यवस्थापन गर्न महिलालाई निकै कठिन हुन्छ । महिनावारी हुँदा आइपर्ने मानसिक र शारीरिक समस्याका बारेमा त धेरै शिक्षित पुरुषहरूलाई जानकारी नै छैन अथवा जान्नै खोज्दैनन् । महिलाका संवेदनशीलताप्रति उनीहरू सजग नै छैनन् । हरेक महिला त्यतिबेला अघि बढ्न सक्छिन्, जब उनको स्वतन्त्रतालाई स्विकार्दै उनको प्रगतिमा साथ दिने श्रीमान हुन्छ र हरेक श्रीमानले यो कुरा बुझ्नुपर्छ कि श्रीमतीको प्रगति उनको मात्र नभई परिवार, समाज र राष्ट्रको प्रगति हो । अब महिलाका समस्या र तिनको समाधानसम्बन्धी चेतना फैलाउने काम पुरुषले गर्नुपर्छ । महिलाका समस्या महिलाका मात्र देख्ने संकुचित सोचलाई पुरुषले बदल्न अत्यावश्यक छ । यसको सुरुवात आफ्नै परिवारका छोरी, दिदीबहिनी, श्रीमती र आमाको क्षमताको विना कुनै पूर्वाग्रह मूल्याङ्कन गरेर आफ्नै घरबाट गर्नुपर्छ । नारी दिवसमा धेरै लेख अब पुरुषबाट लेखिनुपर्छ, महिलाको स्थित पुरुषले पनि अनुभूत गर्न सक्नुपर्छ ।
महिलाले गरेका कार्यहरूलाई नयाँ गति दिनका निम्ति पुरुषहरूको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन घरघरमा शिक्षित पुरुषहरूले महिलालाई अग्रसर गराउने वातावरण बनाउनुपर्छ । परिवर्तनका लागि लगानीको साथै मानसिकता र व्यवहारमा परिवर्तन पहिलो सोपान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण