आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

एपीएफ क्लबले सजिलै हरायो बागमती प्रदेशलाई

आइतबार, २५ फागुन २०८१, १६ : ३३
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सजिलो जित हात पारेको छ । एपीएफ क्लबले बागमती प्रदेशलाई एक सय रनले हराएको हो । 

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी बागमती प्रदेशविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ४४ ओभरमै अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २८.२ ओभरमै अलआउट हुनुअघि ७४ रनमात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याए पनि बागमती प्रदेशका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् । 

बागमती प्रदेशका लागि ओपनर शुभ कंसाकारले मात्र दोहोरो अंकमा रन बनाउन सके । उनले १६ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा २० रन पायो । 

एपीएफ क्लबका बलर कमल ऐरीले चार विकेट लिए । उनले ८.२ ओभरमा दुई मेडन राख्दै २७ रन खर्चिएका थिए । रोहित पौडेल र अमर रौतेलाले पनि दुई–दुई विकेट हात पारे । अविनाष बोहराले पनि एक विकेट कुम्ल्याए । 

त्यसअघि, एपीएफ क्लबका लागि सन्दीप जोराले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अमर रौतेलाले अविजित २६ रन बटुलेका थिए । दीपक बोहराले पनि २५ रन जोडे । कमल ऐरीले टोलीको खातामा १५ रन थपे ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  एपीएफ क्लबले आफ्ना कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा बढी रन त अतिरिक्त रुपमा पाएको थियो ।

बागमती प्रदेशका बलरहरुको गल्तिको फाइदा उठाउँदै एपीएफ क्लबले अतिरिक्त रुपमा ५० रन पाएको थियो ।  बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिए ।

उनले आठ ओभरमा दुई मेडन राख्दै केवल ३० रन खर्चिएका थिए । नन्दन यादवले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा ३८ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट कुम्ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप