रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा
बुटवल । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका तिर्खबहादुर बुढाथोकी (तिलक)को रुस र युक्रेनबिचको युद्धमा मृत्यु भएपछि ७२ वर्षीय बुवा देवीलालले काजकिरिया सुरु गरेका छन् । रुसी सेनामा २०८० सालमा भर्ती भएका बुढाथोकी यही फागुन १३ गतेदेखि नै घरपरिवारको सम्पर्कमा थिएनन् । फागुन २४ गते उनको मृत्यु भएको पुष्टि भएको थियो ।
मृतकका दाइ खगेन्द्र बुढाथोकीले रातोपाटीसँग भने, ‘मृत्यु भएको पुष्टि भएपछि हिजोदेखि बुवा किरिया बस्नु भएको छ,। हामी दाइ भाइ बस्न नमिल्ने रहेछ ।’ हिन्दु परम्पराअनुसार उनका बुवा १३ दिन करिया बस्ने छन् ।
उनको मृत्यु भएको यकिन मितिसमेत थाहा नभएको दाइ खगेन्द्रले बताए ।
यता, पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ । सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरेका छन् । सुनछहरी गाउँपालिका–५ वडाध्यक्ष देवीलाल रोका मगरले मृत्यु खबरले सबैलाई दुखित तुल्याएको बताए । उनले भने, ‘उहाँ स्थानीय नेता पनि हो, त्यसमाथि युवा । विदेशका यसरी मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको छ ।
तिर्खबहादुर २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए ।
- किन युद्ध चर्किरहेको बेला रोजे यस्तो बाटो ?
सुनछहारी गाउँपालिका–५ का देवीलाल बुढाथोकीका कान्छा छोरा तिर्खबहादुर २०३८ सालमा जन्मिएका हुन् । जेठा छोरा खगेन्द्र बुढाथोकी दाङमा बस्छन् । माइला छोरा विदेशमा छन् ।
तिर्खबहादुर बुवाआमासँगै बस्दै आएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पराजित भएपछि उनले विदेश जाने सोच बनाएका थिए । पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रुसी सेनामा सामेल हुन श्रीमती र १२ वर्षका छोरा र ८ वर्षकी छोरीलाई छाडेर विदेश गएका थिए । उनीहरू अलग अलग बस्ने गरेपनि जाने बेला जेठा दाइ खगेन्द्रसँग लामो कुराकानी गरेका थिए ।
‘निर्वाचनमा पराजित भएपछि यहाँ गाउँमा बस्न त्यति रुचि लागेन । गाउँमा रोजगारी पाउने सम्भावना छैन । यहाँ बसेर पनि छोराछोरीको भविश्य हेर्नुपर्ने हुन्छ । घर खर्च पनि चलाउनु पर्ने हुन्छ । त्यस कारणले विदेश जान्छु दाइ,’ उनले भनेका थिए, ‘दाइ यहाँ बसेर के गर्ने आखिर मर्ने बेला जहाँ भए पनि मरिन्छ । म जान्छु भनेको थियो ।’
त्यतिबेलाको कुराकानी सम्झँदै खगेन्द्रले रातोपाटीसँग भने, ‘युद्ध आगो जस्तै सल्किरहेको यस्तो बेला किन जान्छस्, न जा, अन्यत्र जा भनेको थिएँ । तर मानेन । आखिर यस्तो दुखद खबर सुन्न पर्यो ।’
‘हुन पनि यहाँ रोजगारी नपाएर माइलो भाइ पनि विदेशमा छ । गाउँका अन्य धेरै दाजुभाइ पनि विदेशमै छन्,’ उनले भने, ‘बाध्यताले विदेश जानपर्यो । त्यसमाथि युद्धमा हामफाल्ने निर्णय गरेको थियो ।’
रुस र युक्रेनको बेलाबेला भइरहने लडाइँले ज्यान जोखिम रहेको तिर्खबहादुरले आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुराकानी गर्दा बताउनेसमेत गरेका थिए ।
शव आउँछ कि आउँदैन ?
रुसी सेनामा भर्ती हुनका लागि नेपालीहरू अवैधानिक बाटो हुँदै जाने गरेका छन् । वैधानिक बाटो भएर जाने निकै कम रहेको दाइ खगेन्द्रले रातोपाटीलाई बताए ।
उनले शव ल्याउन,अन्य क्षतिपूर्तिको विषयमा बुझ्नको आज श्रम मन्त्रालयमा साथीहरू पठाएको खुलाए । सबै कुरा बुझेपछि अन्य प्रक्रियाबारे साथीहरूसँग सल्लाह गरेर अघि बढ्ने योजना रहेको रातोपाटीलाई बताए ।
सुन छहारी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरले पनि कानुनी पाटो, शव ल्याउने अवस्था छ कि छैन, ल्याउनको के गर्नुपर्छ भनेर बुझ्ने काम भइरहेको रातोपाटीलाई बताए । ‘हिजो मात्रै घटनाबारे थाहा भएको हो । अहिले विभिन्न कुराहरू बुझ्ने काम हुँदैछ । हामीले गर्न सक्ने सहयोग गर्छौँ ।’
रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले मृत्यु भएको खबर थाहा पाए पनि अन्य औपचारिक रूपमा केही नआएको रातोपाटीलाई बताए । उनले घर परिवार सम्पर्क अझै नभएकोले विस्तृतमा बुझ्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण