लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताएका छन् ।
बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताएका हुन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गरे । उनले भने, ‘हामी अहिले लोकतन्त्रमा छौँ, हाम्रो लोकतन्त्र यति उदार छ । पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको छ । त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो । राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौँ हामी । त्यो बेलामा राजाको विरोध गर्नु ठुलो अपराध हुन्थ्यो । अहिले गणतन्त्रको विरोध गर्नु अपराध हुँदैन । जनताको बिचमा जानुस् ।’
अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको बताए ।