बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय

दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने

बिहीबार, २९ फागुन २०८१, १५ : ०७
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । थाइल्यान्डको बैंककमा शनिबारदेखि हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा कार्यक्रम निर्देशक राम शरण सिम्खडाले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । सम्मेलन आइतबारसम्म चल्नेछ । 

कार्यक्रममा नेपाल सरकारका मन्त्री, सांसद, विभिन्न दलका नेतासहित सरोवारवालाहरुको सहभागिता रहनेछ । यस्तै भर्चुअल माध्यमबाट ‘प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद’ पनि हुनेछ । जुन सत्रलाई महत्वका साथ हेरिएको छ । यसका साथै युवा र एनआरएनएसँग सम्बन्धित विभिन्न सत्रहरू पनि राखिएका छन् । 

 विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको अवस्थामा युवा सम्मेलन गर्न लागिएको उनले बताए । 

दोस्रो विश्वयुद्ध पछि बर्मा, थाइल्यान्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा नेपाली मूलका युवाहरू पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा  पुस्तौँदेखि जोडिन खोजेको वर्तमान अवस्थामा ‘इम्पावरिङ द युथ, सेपिङ द पीएनओज् फ्युचर’ भन्ने  मुल नाराका साथ  युवा सम्मेलनको आयोजना गरिएको संघको भनाइ छ । 

‘नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ’, संघको भनाइ छ, ‘सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् (नेपाली मुलका नेपाली), र नेपालका स्थानीय युवाहरू बिच मजबुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तीकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।’ 

सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबिच मजबुत सम्बन्ध स्थापना गर्दै  शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्त्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको सिम्खडाले बताए ।  

सम्मेलनमा सरकारी अधिकारीबाहेक एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपुर्वका  देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप