बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रशान्त, बद्री र अभिनाषसँगै झुम्यो नाम्चेबजार

सोमबार, २१ जेठ २०७५, १३ : १७
सोमबार, २१ जेठ २०७५

काठमाडौं– एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा ‘एभरेष्ट डे–२०१८’ शीर्षकको सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ । पार्टी एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चे युथ ग्रुपले नाम्चेबजार स्थित हिमालय आधारभूत विद्यालयको प्राङ्गणमा लोकप्रिय कलाकारहरुको साथमा लाइभ कन्सर्ट तथा डान्स पार्टि आयोजना गरेको हो । 

कार्यक्रममा सहभागि कलाकारहरु यसै साता काठमाडौं फर्किएको पार्टी एभरेष्टका पासाङ छिरिङ शेर्पाले जनाएका छन् । शेर्पाका अनुसार ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टि आयोजना गरिएको हो ।

‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउँ भन्ने नारा राखेर आयोजना भएको सांगीतिक कार्यक्रममा नेपाली मूलका ईन्डियन आइडल प्रशान्त तामाङ सहित नेपाली गायकहरु बद्री पंगेनी, अभिनाष घिसिङ तथा लोक गायिका प्रिया भण्डारी आकर्षणको केन्द्र बने । कार्यक्रममा सहभागि हुन मुम्बईबाट काठमाडौं हु“दै एयर डाइनेष्टिको हेलिकोप्टरबाट लुक्लाहुँदै नाम्चे बजार पुगेका गायक प्रशान्त तामाङले कार्यक्रममा ‘असारै महिनामा‘’ सहितका लोकप्रिय गीत–संगीत प्रस्तुत गरे ।

लोक गायक बद्री पंगेनीले भने आफ्नो गायनमार्फत उपस्थित झण्डै ३५ सय दर्शकहरुलाई छमछमि नचाए । गायक अभिनाष घिसिङ तथा गायिका प्रिया भण्डारीले पनि दर्शकहरुलाई उत्तिकै मनोरञ्जन दिए । सांगीतिक कार्यक्रम लगत्तै डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यवसायिक डिजे डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरको रुपमा रुपान्तर गरिदिए । 

उनले बजाएका फास्ट बिटका लोकप्रिय गीतको तालमा डान्स गर्नेहरुमा स्वदेशीसहित विदेशीहरु पनि थिए । सगरमाथाको आरोहण गरेर फर्किएका विदेशी पाहुनाहरुले समेत सांगीतिक मनोरञ्जन लिएको कार्यक्रम साँझ ६ बजे देखि बिहान ५ बजेसम्म सञ्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप