भ्रमण वर्षको अफर : नगरकोका होटल व्यवसायीले १० प्रतिशत छुट दिने

भक्तपुर । आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा चार नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीले यस्तो घोषणा गरेका हुन् ।
चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताए । उनले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, एक पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए ।
‘करोडौँ लगानी गरेर होटल सञ्चालन गरिरहेका व्यवसायीहरुले भ्रमण वर्ष सफल पार्न सामाजिक दायित्वअन्तर्गत आवश्यक लगानीसहित आगन्तुक पर्यटकको स्वागतमा लाग्नुपर्छ । सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा खानेबस्ने गरी छुटका प्याकेज बनाउन पनि आवश्यक छ’, नगरप्रमुख खत्रीले भने ।
चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् । होटल व्यवसायीदेखि स्थानीयवासीले भ्रमण वर्ष सफल पार्न आ–आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न नगरपालिकाले ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु