ज्ञानेन्द्र शाहज्यू ! सुल्टो बाटो नै हिँडिस्यो
यस गणतान्त्रिक व्यवस्थाका शासकहरु जनताको अपेक्षा र अवस्थालाई सम्बोधन गर्न चुकिरहेका छन् । सत्तासीनहरू सत्ताको माखेसाङ्लोमा लम्पट भएका देखिन्छन् । यस कारण नेपाली जनता यतिबेला निराश छन् । जनताले व्यवस्था अनुकूलको नेतृत्व पाउन सकेका छैनन् । विशेषतः देशमा सुशासन र समृद्धि नहुँदा जनता केही हदसम्म आक्रोशित हुन पुगेका छन् । केही शक्ति भने जनताको यही आक्रोशलाई आधार बनाएर आफूले फाइदा लिन खोजिरहेका देखिन्छन् । यस्तो बेला जनता निकै सजग र सतर्क हुनुपर्ने देखिन्छ ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र र उनी समर्थित केही स्वार्थी समूहले लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भाष्य निर्माण गर्न खोज्दै छ । उनीहरुले निराश जनताको भावनासँग खेल्दै आन्दोलनका नाममा अराजकता फैलाउने प्रयास गरिरहेका देखिन्छन् । नेतृत्वविना लहडैलहडमा लाग्दा चैत १५ गतेको आन्दोलनमा जनधनको समेत क्षति भएको छ । क्षति भएको धन त फर्केला तर जन फर्किनन् । यस्तो मर्ने र मार्ने खेल अनि मान्छेको मूल्य तोक्ने काममा विचार गर्ने कि ?
जनताहरू असन्तुष्ट, निराश, आक्रोशमा छन् भन्दैमा तिनीहरूको संवेदनामाथि जो–कोहीले जहिले पनि खेलबाड गर्ने प्रवृत्तिलाई अन्त्य गरिनुपर्छ । नेपाली जनतामाथि यस्तो खेलबाड धेरैपटक भएको छ । जनआन्दोलनका लागि विचार, उद्देश्य, नेतृत्व चाहिन्छ तर अहिलेको आन्दोलनमा यी कुनै कुरा देखिँदैनन् । जनतालाई हिंसामा उतारेर पूर्वराजा वा नवराज सुवेदी वा दुर्गा प्रसाईंले के चाहेका हुन् ? उनीहरू आफैँ राजा हुन वा प्रधानमन्त्री बन्न ! अनि यसबाट जनताले पाउने के ? त्यही तातो गोली !
हिजो राजाकै कारण राजतन्त्र सङ्कटमा परेको हो भने अहिले गणतन्त्रवादीकै कारण गणतन्त्र सङ्कटमा परेको हो । राजनीतिक नेतृत्वको अहंकार र दम्भका कारण नै गणतन्त्र सङ्कटमा परेको हो । आज नेपाली जनतालाई भ्रममा पारेर गणतन्त्रवादीका नाइके केही सीमित व्यक्तिले राज्यसत्तालाई बन्धक बनाई ब्रह्मलुट मच्चाएकै कारण पूर्वराजा र परम्परावादी शक्तिहरू जागेका हुन् ।
अहिलेको आन्दोलनको सूत्रपात गरेका भनिएका पूर्वराजाले किन आफ्नो स्पष्ट विचार बाहिर ल्याउन र सडकमा पनि आउन सक्दैनन् ? उनलाई जनताले नै श्रीपेच लगाइदिएर भगवान् नै मान्नुपर्ने हो र ? राजा आएपछि उनले गर्ने के हो ? उनका एजेन्डा वा मार्गहरू के के हुन् ? जनताले आँखा चिम्लिएर ज्यान फाल्दा फेरि पनि उनी निरंकुश हुँदैनन् भनेर के आधारमा विश्वास गर्ने ? राजा आएपछि सारा समस्या फुमन्तर हुन्छन् र ? हिजो राजाको शासन भोगेकै हो त ! वर्षौंदेखि थिलथिलो परेको देशलाई फेरि पनि थला नै पारिरहने हो र ? नेपाली एकापसमा मर्ने र मार्ने खेल कहिलेसम्म खेलिरहने ? आम जनता बहकिँदा निश्चित व्यक्तिले फाइदा लिइरहेको फेरि बिर्सने र ? अब नेपाली जनता कसैको उक्साहटमा लागेर नबहकौँ ।
हामी जनताले यो नै अन्तिम आन्दोलन हो भन्दै विगतमा धेरैपटक रगतका खोला बगाएको बिर्सनु हुँदैन । अब कुनै किसिमका आन्दोलन गरिनु हुन्न । के नेपालीको पर्याय भनेको आन्दोलन नै हो र ? नेपाली भएर जन्मिएको मर्न र मार्न मात्रै हो र ? कतिऔँ पुस्तासम्मले नेपाललाई शान्त र समृद्ध मुलुक भएको देख्न नपाई मर्ने हो र ? एकपटक गम्भीर भएर विचार गरौँ न । एउटा नेपाली मर्दा अर्काे नेपालीले कहिल्यै जित्दैन । यस्तो कहिल्यै पनि नजितिने खेल अब नखेलौँ कि ? २१ औँ शताब्दीमा आउँदा पनि १५औँ शताब्दीतिर फर्कने कुरा नगरौँ । सृष्टिको गति जहिले पनि अगाडि जान्छ, पछाडि कहिल्यै फर्कन्न । साँच्चै सोचौँ, कतै हाम्रो आफ्नै कारण हामीले दुःख पाएका त छैनौँ ? अहिलेको युगमा विश्वमा सबैभन्दा सफल र उत्कृष्ट व्यवस्था भनेकै लोकतन्त्र देखिन्छ । लोकतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत लोकतन्त्र नै हो भन्ने कुरालाई जनमानसले गम्भीर भएर बुझ्ने कि !
हामीले बुझ्नुपर्छ कि नेपालका गणतन्त्रवादीहरू भनिएका केही दल असफल भएका कारण जनताले दुःख पाएका हुन्, अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको होइन । व्यवस्था आफैँमा कहिल्यै सफल र असफल हुँदैन । अहिले नै राजावादीको आन्दोलन चलिरहेको अवस्थामा गणतन्त्रवादीले पनि गणतन्त्र सङ्कट पर्यो भन्दै लाजमर्दाे र हास्यास्पद तरिकाले सडकमा आएका पनि देखिन्छन् । वास्तवमा लोकतन्त्र र गणतन्त्र सङ्कटमा पर्नुको मुख्य दोषी भनेका गणतन्त्रवादी नै हुन् । हिजो राजाकै कारण राजतन्त्र सङ्कटमा परेको हो भने अहिले गणतन्त्रवादीकै कारण गणतन्त्र सङ्कटमा परेको हो । राजनीतिक नेतृत्वको अहंकार र दम्भका कारण नै गणतन्त्र सङ्कटमा परेको हो । आज नेपाली जनतालाई भ्रममा पारेर गणतन्त्रवादीका नाइके केही सीमित व्यक्तिले राज्यसत्तालाई बन्धक बनाई ब्रह्मलुट मच्चाएकै कारण पूर्वराजा र परम्परावादी शक्तिहरू जागेका हुन् । कुनै पनि शासन व्यवस्था भनेको साधन हो, साध्य होइन । यही व्यवस्था र वर्तमान कानुन टेकेर अहिलेको विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ । अहिलेको युगमा लोकतन्त्रजस्तो सुन्दर व्यवस्थालाई परिवर्तन गर्न लाग्नु भनेको असान्दर्भिक र नटुङ्गिने खेल हो जस्तो लाग्छ ।
हामी नेपालीले एकपटक पछाडि फर्केर राजाको निरंकुश व्यवस्थाको ऐतिहासिक समीक्षा गर्ने कि ? राणाशासन र पञ्चायतमा के के पाएका थियौँ र अहिले के पाएनौँ ? अब पुनः त्यही निरङ्कुश राजा ल्याउन फेरि मर्ने र मराउने ? आँखा र मुख बन्द गरिदिने अनि हातखुट्टा बाँधिदिने त्यो निरंकुश राजा र राजतन्त्र पुनः किन चाहियो ?
अहिलेको नवपुस्तालाई लाग्न सक्छ, योभन्दा त पहिलेकै व्यवस्था ठिक थियोे कि ? होइन, यही लोकतान्त्रिक व्यवस्था नै उत्कृष्ट छ । नेपालमा २४१ वर्षे राजतन्त्र राम्रैसँग भोगेरै असफल नै भएर फालिएको हो । नेपालमा विकास र समृद्धिको बाधक अहिलेको व्यवस्था हुँदै होइन । अहिलेका बाधक भनेका राजनीतिक नेतृत्वहरू नै हुन् । हामीले धेरै वर्ष लडेर असल व्यवस्था त ल्याऔँ, तर यो व्यवस्थालाई नेतृत्व गर्न सक्ने असल र दूरदर्शी राजनेता पाउन वा जन्माउन नसक्नाले दुःख पाएका छौँ । अब हामीलाई लोकतान्त्रिक व्यवस्थाको नेतृत्व गर्ने राजनेता चाहिएको हो, राजा होइन । यही संविधान भित्रैबाट एउटा असल राजनेता खोजौँ ।
वर्षौंदेखि राजतन्त्र र हिन्दुधर्मको मुद्दा उठाउँदै आएका परम्परावादी राजनीतिक दलका नेतृत्व कमल थापा र राजेन्द्र लिङदेन जस्तालाई त पूर्वराजा स्वयंले अविश्वास गरी पन्छ्याउँदै बहुदलीय व्यवस्था आएपछि नामै हराएका पूर्वपञ्च नवराज सुवेदीलाई अगाडि सारे भनिएको छ ।
हाम्रो देशमा कुनै व्यक्ति वा शक्तिको नितान्त निजी स्वार्थले जबर्जस्त राजनीतिक मुद्दा प्राप्त गरिरहेको हुन्छ र हामी जनताहरू पनि तिनैका लहडमा परेर पछाडि दौडिरहेका हुन्छौँ । जनता मर्छाैं, स्वार्थी समूहले रगतको आहालमा पौडिएर सत्तामा पुगेर लुटिरहेका हुन्छन् । यस्तै तरिकाले लामो समयसम्म जनतालाई आँखामा छारो हालेर र समाजमा वितण्डा मच्चाएर देश लुट्ने र बेच्ने प्रवृत्तिको विकास भइरहेको छ, यी कुराबाट पाठ सिक्दै व्यवस्था होइन अवस्था परिवर्तनको लागि अब नयाँ ढङ्गले लागौँ । लोकतान्त्रिक व्यवस्थामा नेतृत्वलाई झापट दिने भनेको निर्वाचन नै हो, निर्वाचनमा ‘नो नट अगेन’ भन्दै दुर्गन्धित पात्रलाई मिल्काउनुपर्छ ।
हामी नेपाली जनता किन आफू मरेरै पूर्वराजालाई रगतको आहालमा पौडँदै नारायणहिटी दरबारमा पुनः पसाउने ? वर्षौंदेखि राजतन्त्र र हिन्दुधर्मको मुद्दा उठाउँदै आएका परम्परावादी राजनीतिक दलका नेतृत्व कमल थापा र राजेन्द्र लिङदेन जस्तालाई त पूर्वराजा स्वयंले अविश्वास गरी पन्छ्याउँदै बहुदलीय व्यवस्था आएपछि नामै हराएका पूर्वपञ्च नवराज सुवेदीलाई अगाडि सारे भनिएको छ । हामी नेपाली जनता जहिले पनि साह्रै हल्का र खेलौना नबनौँ । यो मानव जुनीलाई कसैको व्यक्तिगत स्वार्थका लागि खेर नफालौँ । अहिले यो राजावादीको खेल निरंकुश व्यवस्थाको पुनर्गमनका लागि होइन भनेर किन र कसरी विश्वास गर्ने ? हामी आवेग र उत्तेजनामा नआऔँ । हामी नेपाली जनतालाई सुशासन र समृद्धि चाहिएको हो कि राजा ? चाहिएको त सुशासन होला, हैन र ?
अन्त्यमा, पूर्वराजा ज्ञानेन्द्र शाहज्यू ! अमूर्त कुरा गरेर जनता उचाल्ने, उकास्ने र उत्तेजनामा ल्याउने काम नगरिस्यो । संविधान अनुसार राष्ट्रपति बन्न सकिन्छ । हजुर पनि हामीजस्तै यो देशको नागरिक होइसिन्छ, सुल्टो बाटो हिँडिस्यो, स्पष्ट धारणा राखिस्यो । यो देशमा संविधानभन्दा माथि कोही छैन । संविधान विपरीतको बाटो हिँड्दा देशमा ठुलो दुर्घटना निम्तिन सक्छ । कोही न कोही मर्नु भनेको आखिर नेपाली मर्नु होइन र ? फेरि जनता मारेर हजुर राजा सम्भावना कमै छ, बरु राजनीतिमा लागेर राष्ट्रपति बन्ने सम्भावना बन्ने सम्भावना बढी छ । यसतर्फ पो सोच्ने कि ? म फेरि दोहोर्याई स–सम्मान बिन्ती गर्छु— ज्ञानेन्द्र शाहज्यू ! सुल्टो बाटो नै हिँडिस्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण