उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
‘राजतन्त्रको कल्पना नगरे हुन्छ’

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् ।
मंगलबार मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए ।
उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे ।
‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’
सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
एक घण्टाभन्दा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले यही व्यवस्थालाई मजबुत बनाउनका लागि अहिलेको सरकार र गठबन्धन निर्माण भएकाले ०८४ को चुनावसम्म यही समीकरण कायम हुने ठोकुवा गरे ।
देशको समस्या समाधान गर्नका लागि दुई ठुला पार्टीले सरकार बनाएकाले यो सरकार कसैले चाहेर पनि नहल्लिने उनले प्रस्ट पारे ।
पूर्वराजालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकमा राजतन्त्रको कल्पना नगर्न सुझाव दिए । ‘गणतन्त्र यो देशको वर्तमान र भविष्य दुवै हो,’ उनले भने, ‘त्यसकारण २/४ हजार मान्छे ल्याएर वितण्डा मच्चाएर राजतन्त्रको कल्पना नगरे हुन्छ ।’
मधेस प्रदेशले ल्याएको ‘फिड द नेशन’ को अवधारणा राम्रो रहेकाले यस्ता योजनासहित जनताको विकास हुने हरेक योजनमा संघ सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।
उनले भने, ‘मधेस प्रदेश उर्वर भूमि हो, त्यसकारण यहाँ उत्पादनतर्फ तपाईंहरू बढी ध्यान दिनुस् । त्यस्ता गुरुयोजनामा केन्द्र सरकारले पनि पूरा सहयोग गर्छ तर तपाईंहरू एउटा गुरुयोजना बनाएर हिँड्नुस् ।’
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्यौँ, त्यसबारे गहन चर्चा गर्न जरुरी रहेको औँल्याए ।
दुई छिमेकी मुलुकलाई लक्षित गर्दै सिसाको गिलास फुट्दैमा सम्बन्ध खराब नहुने बताएका छन् । दुई वटै छिमेकी देशसँग नेपालको सम्बन्ध सुमधुर रहेको बताए ।
छिमेकी मुलुकसँगको सम्बन्धबारे अनेक प्रकारको हल्ला फिँजाइएको भन्दै उनले असन्तुष्टि जनाए । कुनै ठाउँमा बस्दा छिमेकीसँग कहिलेकाहीँ नराम्रो हुने तर त्यसकै आधारमा सम्बन्ध खराब भयो भनेर भन्न नमिल्ने उनले बताए ।
‘एउटा छिमेकीको बच्चा गएर अर्को छिमेकीको सिसाको गिलास फुटाइदिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उसको बच्चा आएर अर्कोको प्लेट फुटाइदिन्छ । अनि के बच्चालाई गाली गर्ने त ? छिमेकमा भएपछि यस्ता सानातिना घटना भइरहन्छन् । तर आपसी सम्झदारी हामीले राख्नुपर्छ, मित्रता कायम राख्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित