शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य

बुधबार, २७ चैत २०८१, १२ : ३५
बुधबार, २७ चैत २०८१

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकामा आयात हुने औषधिमा पनि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए । उनको यो घोषणापछि भारतीय सेयर बजारमा फर्मास्युटिकल कम्पनीहरूको सेयर मूल्य ओरालो लागेका छन् । 

भारतीय औषधिका लागि अमेरिका सबैभन्दा ठुलो बजार हो । ट्रम्पले गत हप्ता विश्वभरका व्यापार साझेदारमाथि अतिरिक्त भन्सार महसुल घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर ट्रम्पको अडान परिवर्तन भएदेखि औषधि कम्पनीहरूको सेयर मूल्यमा दबाब सृजना भएको छ । 

बायोकन, लौरस ल्याब्स र लुपिन जस्ता औषधि कम्पनीहरूको सेयर मूल्यमा  सबैभन्दा धेरै कमी आएका छन् । यी कम्पनीहरूको सेयर ३ प्रतिशतदेखि ५ प्रतिशत सम्म घटेका छन् । अन्य प्रमुख कम्पनीहरूमध्ये, सन फर्मास्युटिकल इन्डस्ट्रीज, सिप्ला र डा रेड्डीज ल्याबोरेटरीजको सेयर १ प्रतिशतदेखि २ प्रतिशतसम्म घटेको छ । 

औषधिमा कहिले र कति कर लगाउने भनेर ट्रम्पले अझै स्पष्ट पारेका छैनन् । यसबारे चाँडै नै घोषणा गर्ने उनको भनाइ थियो । बुधबार भारतीय फर्मा इन्डेक्समा सूचिकृत २० वटै कम्पनीको सेयर रातोमा छन् ।  भारतको बेञ्चमार्क सेयर परिसूचक निफ्टी ५० शून्य दशमलव ५९ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप