एनी कुँवरको बयान - मास्क लगाउनेलाई चिन्दिनँ, मान्छे बचाउन भिडियो बनाएँ
काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकी अनिता कुँवर (एनी) अहिले हिरासतमा छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
पत्रकार सुरेश रजक जलेको घरमा कुँवरले ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्रीसमेत हुन् । आगजनी गरिएको घरबाट फर्किँदै गर्दा उनीभन्दा पछाडि अर्का एक जना पुरुष गम्छाले मुख र टाउको छोपेर निस्केका छन् । सामाजिक सञ्जालमा धेरैले आगजनीमा मुखमा मास्क लगाएका पुरुषको भूमिकाबारे प्रश्न उठाएका छन् । तर कुँवरले प्रहरीसँग मास्क लगाउने पुरुषबारे अनभिज्ञता जनाएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, ‘मुखमा मास्क लगाएका पुरुषलाई म चिन्दिनँ ।’
तीनकुनेस्थित सुवाल ल एसोसिएट्सको कार्यालयमा गरिएको आगजनी निभाउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा यत्रतत्र छ । भिडियोमा उनले भनेकी छन्, ‘राष्ट्रवादी साथीहरूले यो अफिसमा लागेको आगो निभाउनुभएको छ ।’
तर एकैछिनमा उक्त भवनको आगजनी नियन्त्रण बाहिर गएपछि पत्रकार रजकले ज्यान गुमाएका थिए । कुँवरले भिडियोमा भनेकी छन्, ‘आगलागीमा परेकालाई हेलिकप्टरमार्फत उद्धार गरिदिन आग्रह गर्दछु ।’ उनले भवनमा फसेकाहरूलाई उद्धार गर्ने उद्देश्यले फेसबुक लाइभ गरेको अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् । कुँवरले भनेकी छन्, ‘भवनमा मान्छे छन्, भनेर लाइभ गरेको हुँ, म पुग्दा भवनको गेट लागिसकेको थियो ।’
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भएकी ३० वर्षीया कुँवर दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागी हुन तीनकुने गएको भेटिएको छ । स्युचाटार बस्ने कुँवरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदावरीबाट पक्राउ गरेको हो । उनी गोदावरीमा फुपुको घरमा लुकेर बसेकी थिइन् ।
आगजनी भएको घरमा पुग्दा आफुले पत्रकार रजकलाई पनि देखेको कुँवरले अधिकृतहरूसँग बताएकी छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कुँवर भन्छिन्, ‘आगजनीमा मेरो भूमिका छैन, मान्छे बचाउन त्यो भिडियो बनाएकी हुँ ।’
राजतन्त्र पुनरागमनको माग गर्दै आएकी कुँवरलाई प्रहरी अधिकृतहरूले पारस शाहसँग लिइएको फोटोबारे पनि सोधपुछ गरेका छन् । पूर्वयुवराज पारस शाहसँगको उनको फोटो सामाजिक सञ्जालमा भाइरल छ । त्यसबारे उनले भनेकी छन्, ‘पारस सरकारसँग कार्यक्रममा भेट हुँदा फोटो खिचेको थिएँ ।’
प्रहरीले कुँवरसँग प्रारम्भिक बयान लिएको छ । उनीसहित अन्य प्रतिवादीहरूसँग अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन् । अहिलेसम्म ३२ जनाको बयान पूरा भएको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए ।
सञ्चारकर्मी थिइन् कुँवर
कुँवर पूर्वपत्रकार पनि हुन् । एभिन्युज टेलिभिजनमा 'खबरभित्रको खबर' कार्यक्रमको समाचारबाचिका थिइन् । उनले न्युज २४ मा 'कल २४' कार्यक्रम पनि सञ्चालन गरेकी थिइन् । पछिल्लो समय धार्मिक र राजावादी अभियानमा सक्रिय कुँवरले एक दशकअघि 'ब्रह्मा' फिल्मबाट सिने क्षेत्रको यात्रा पनि सुरु गरेकी छन् ।
२०७९ सालमा प्रदर्शनमा आएको फिल्म 'माइकल अधिकारी'मा उनी सामान्य भूमिकामा भने देखिएकी थिइन् । उनले म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गर्दै आएकी छन् । उनी एनिमिस राजधानी–२०१२ की विजेता पनि हुन् ।
यो पनि पढौँ...
तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण