थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
काठमाडौँ । पछिल्लो समय नेपाल र भारतबिच प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सम्बन्ध चिसिएको चर्चा भइरहन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने थाइल्यान्ड भ्रमण सकेर चैत २४ गते फर्किएका थिए । उनले त्यहाँ छिमेकी मुलुलक भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए । उक्त भेटपछि नेपाल–भारत सम्बन्धमा सुधार आउने आशा गरिएको थियो । तर आशा गरेअनुसार देखिएको छैन । त्यही सम्बन्ध सुधार गर्न प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटेका थिए ।
बिम्स्टेक बैठकका लागि थाइल्यान्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच चैत २२ गते भेट भएको थियो । दुई जनाबिच दुवै पक्षबाट ६–६ जना राखेर सामूहिक भेटघाट गर्ने तय भएको थियो । तर प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीसँग एक्लै भेट्न चाहेका थिए । अन्तिममा ओलीको प्रस्ताव मोदीले पनि स्वीकार गरेका थिए । सम्भवत एक्लाएक्लै भेट्न नरुचाउने मोदीले ‘नोट टेकर’ समेत नराखी ओलीसँग भेटेका थिए ।
चैत २३ गते नेपाल फर्केपछि प्रधानमन्त्री ओलीले नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आयोजना हुने सगरमाथा संवादमा नआउने बताए । साथै आफ्नो भारत भ्रमणबारे पनि टुंगो लगाउन सकेनन् । यसले पनि दुई देशबिच सम्बन्ध सुधार नभएको प्रस्ट्याउँछ । थाइल्यान्डबाट फर्केपछि चैत २६ गते मधेश प्रदेश पुगेका प्रधानमन्त्री ओलीले भने दुई छिमेकी देशसँग सुमधुर सम्बन्ध रहेको बताएका थिए ।
मधेश प्रदेशसभामा सम्बोधन गर्न पुगेका ओलीले त्यहाँ भने, ‘हल्ला गर्नेहरूले भनिरहन्छन् यहाँ सम्बन्ध बिग्रियो त्यहाँ सम्बन्ध बिग्रियो, कहाँ बिग्रियो सम्बन्ध ? सँगै सुत्नेले खुट्टा बोकाउँछ । अर्कै अर्कै खाटमा सुतेका मान्छेले खुट्टा बोकाउँदैनन् नि । खुट्टो हटाऊ भन्नुपर्यो, कुरो सिध्यो ।’
‘छिमेककै गाईले बाली खाइदिन्छ’ भन्ने उदाहरण दिँदै उनले भने, ‘जोसँग कारोबार छैन, त्योसँग न मित्रता हुन्छ न शत्रुता, केही लिनुदिनु छैन भने त्यहाँ केही हुँदैन ।’ ओलीले नेपाल–भारत सम्बन्धबारे छिमेकमा खटपट भइरहने र त्यसलाई सम्बन्ध बिग्रेको भन्न नहुने बताए । ‘छिमेकी भएपछि समझदारी राख्नुपर्छ, ग्लास वा प्लेटभन्दा ठुलो छिमेकी हो, मित्रता हो भनी बुझ्नुपर्छ । ग्लास वा प्लेट आइरहन्छन् गइरहन्छन्,’ उनले भने । ओलीले नमिलेको कुरा थप छलफल गरेर समाधान गर्न सकिने धारणा राखेका थिए ।
साथै दुई छिमेकबिच राम्रो सम्बन्ध रहेको र यो मित्रतालाई कसैले बिगार्न नसकिने उनले बताएका थिए ।
‘खुला सिमानाका कारण गलत गतिविधि भइरहेका छन्, यी गतिविधि दुवैतर्फबाट रोकिनुपर्छ,’ उनले भने, ‘खुला सिमानाको दुरुपयोग हुन दिनु हुँदैन, यसमा सतर्क रहनुपर्छ ।’ थाइल्यान्डमा भारतीय समकक्षी मोदीलाई भेटेको तीन दिनपछि मधेश प्रदेशसभामा ओलीले दिएको अभिव्यक्तिबाट बुझ्न सकिन्छ, नेपाल–भारत सम्बन्धमा कुनैखाले सकारात्मक आशा देखिएन ।
चाहेर पनि भारत भ्रमणमा जान नसकेका/नपाएका प्रधानमन्त्री ओलीले थाइल्यान्डअघि संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकामा पनि मोदीलाई भेटेका थिए । उक्त भेटपछि सम्बन्धमा सुधार आउने भनी धेरैले अपेक्षा गरेका थिए । तर त्यसो भएन । सम्बन्ध सुधारका लागि नेपालबाट खासगरी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले निकै प्रयास गरेकी थिइन् । बहुप्रतीक्षित थाइल्यान्ड भेटघाटले आउने दिनमा कस्तो नतिजा दिन्छ, त्यो पर्खाएको विषय रहेको पूर्वराजदूत दिनेश भटट्राई बताउँछन् । ‘दुई देशका प्रधानमन्त्रीबिच भेटघाट हुनु नै सकारात्मक कुरा हो, तर त्यो भेटघाटपछि कस्तो परिणाम आउछ त्यो हेर्न बाँकी नै छ,’ उनले भने, ‘भेटघाट भएको एक हप्ता पनि भएको छैन, अगामी दिनमा दुई देशको गतिविधि र सम्बन्ध कसरी अगाडि बढ्छ त्यसले मात्र थाइल्यान्ड भेटघाटको अर्थ रहन्छ ।’
भारतीय प्रधानमन्त्रीले चाहेरै एक्लाएक्लै भेटघाट गर्न खोज्नुले पनि ठुलो अर्थ राख्ने उनको भनाइ छ । ‘एक्लाएक्लै भेट्नुको अर्थ दुवै जनाले आआफ्ना कुरा खुलेर राख्नु हो,’ भट्टराईले भने, ‘त्यसरी मन माझामाझ हुनेगरी कुरा भएको छ भने पक्कै पनि आउने दिनमा केही परिणाम देखिन सक्छ ।’
जानकारहरूका अनुसार नेपालका प्रधानमन्त्री चीन र भारतका प्रधानमन्त्री वा त्यस्तै उच्चस्तरीय अधिकारीसँग एक्लाएक्लै भेट्न रुचाउँछन् र उनीहरूले यस्तै प्रस्ताव पनि गरिरहेका हुन्छन् । चीन र भारतको भ्रमणमा दुई जना प्रधानमन्त्रीको कार्यकालमा संलग्न एक कूटनीतिज्ञ भन्छन्, ‘नेपालका प्रधानमन्त्रीको चाहना जहिल्यै एक्लाएक्लै भेट्ने हुन्छ, तर तत् देशका प्रधानमन्त्रीहरूले समूहमा नै भेट्न चाहेका हुन्छन् । ठुला देशमा प्रधानमन्त्रीहरूले हरेक भेटघाटमा अरू कोही नभएपछि आफ्ना एक जना नोटटेकर भए पनि राखेर कुराकानी गर्न खोजेका हुन्छन् ।’
तर नेपालका प्रधानमन्त्रीहरूले नोटटेकर पनि राख्न नचाहने उनी बताउँछन् । थाइल्यान्ड भ्रमणमा दुवै पक्षबाट आ–आफ्ना नोटटेकर समेत नराखेर वार्ता गर्नुलाई कुटनीति क्षेत्रमा अनौठो र यो विरलै हुने उनले बताए ।
पूर्वराजदुत विजयकान्त कर्ण पनि चीन र भारत कहिल्यै एक्लाएक्लै भेटघाट गर्न नचाहने तर नेपालकै तर्फबाट त्यस्तो प्रस्तावहरू गइरहने बताउँछन् । ‘यसपटक पनि प्रधानमन्त्री मोदीसँग एक्लाएक्लै भेट्ने प्रस्ताव पनि प्रधानमन्त्री ओलीबाट गएको हुनुपर्छ,’ उनले भने, ‘दुईबिच आधा घण्टा भेटवार्ता भएको छ, एक्लाएक्लै भेटवार्ता यदि सकारात्मक हुँदैन भने लामो जाँदैन, दुवैबिच सकारात्मक कुराकानी भएको होजस्तो मलाई लाग्छ, तर यसको परिणाम देखिन अझै बाँकी छ ।’
दुई प्रधानमन्त्रीबिच भएको भेटवार्तापछि आएको प्रतिक्रिया हेर्दा आफूले यसलाई सकारात्मक लिएको उनको भनाइ छ । थाइल्यान्डबाट फर्केपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेताहरूसँग छलफल गर्दा पनि भेटघाट सकारात्मक भएको र चाँडै नै दुवै देशबिच उच्चस्तरीय भ्रमण हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण