वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
शुक्रबार, २९ चैत २०८१, १६ : १८

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१ औँ वार्षिक साधारणसभामा बोल्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई स्वदेशमा नै अधिकतम रूपमा सदुपयोग गर्ने वातावरण बनाइने बताएका हुन् ।
वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानुन संशोधन लगायतका विषयलाई सरकारले विशेष ध्यान दिने उनले बताए । उनले अन्तर्राष्ट्रिय श्रम बजारमा जाने र फर्कनेको सङ्ख्या उतिकै रहेकाले फर्कनेहरूले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सङ्घको साधारण सभाले नयाँ नेतृत्व सचेत चयन गर्ने बताइएको छ ।