महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताएका छन् ।
जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले अहिंसाको सत्मार्गलाई सबैले पालना गरेर अघि बढ्नुपर्ने बताए ।
“मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्”, मुख्यमन्त्री सिंले भने,“जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।”
उनले अहिंसा र मानवतावाद नै अहिलेको आवश्यकता रहेको बताए ।
फरक प्रसङ्गमा मुख्यमन्त्री सिंहले पर्साको सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने धारणा राखे ।
“सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।”
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।
“जैन धर्मावलम्बीहरु यहाँ न्यून सङ्ख्यामा भए पनि गुणात्मक खालको काम गर्दै आइरहनुभएको छ । आगामी दिनमा पनि सामाजिक र अन्य प्रेरणादायी काम गर्दै अघि बढ्न अनुरोध गर्दछु”, उनको भनाइ थियो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देविसहाय मिनाले महावीरका सत्कर्म र भावनालाई व्यवहारिक जीवनमा उतार्नुपर्ने बताए ।
जैन श्वेताम्बर तेरापन्थी महासभाका उपाध्यक्ष अशोककुमार वैदले महावीरले अपनाएको अहिंसावादी विचारको प्रचार र अनुशरणको आवश्यकता औँल्याए ।
भगवान् महावीरले अहिंसा, सत्य अपरिग्रह, अनेकान्तवाद र ब्रह्माचार्य आदर्शलाई प्रतिपादन गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण