हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार हङ्कङ चाइनाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४६.२ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनायो ।
काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा हङ्कङका लागि शिव माथुरले अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शिवले ६३ रन बनाए । उनले एक सय १६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर आर्य पन्जवानीले १३ रन बनाए । ह्यारी थोमसले १० रन बटुले । वीर माथुरले पनि १२ रन जोडे । हङ्कङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । हङ्कङले अतिरिक्त रुपमा ११ रन पायो ।
नेपाली टोलीका बलर युवराज खत्रीले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा केवल १८ रन खर्चिएर चार विकेट लिए । ओमानविरुद्धको अघिल्लो खेलमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएका थिए ।
विपिन प्रसाद शर्माले पनि तीन विकेट हात पारे । उनले ६।२ ओभरमा २४ रन खर्चिए । सन्तोष यादवले पनि दुई विकेट लिए । उनले १० ओभरमा २० रन खर्चिए । अशोक धामीले पनि एक विकेट कुम्ल्याए । जारी छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको हो । यसअघि आफूले खेलेको दुबै खेलमा नेपाली टोली विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपालले ओमानलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपका लागि यो छनोट प्रतियोगिता खेलिँदैछ । छनोट प्रतियोगितामा पाँच टोली सहभागी छन् ।
नेपाल र अफगानिस्तान हालसम्म अपराजित छन् । चार अंकसहित अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । नेपाल पनि दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेट रन रेटमा नेपालभन्दा अफगानिस्तान अगाडि छ ।
यूएई र हङ्कङले एक–एक खेल खेलेका छन् । यी दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । दुई खेल खेलेको ओमान पनि दुबै खेलमा पराजित भएको छ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेल शनिबार बलियो अफगानिस्तानसँग खेल्नेछ ।
यो प्रतियोगिताबाट अंक तालिकाको पहिलो स्थानमा रहने एक टोली सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । यू–१९ एकदिवसीय विश्वकपको १६औँ संस्करण जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण