नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा

काठमाडौँ । अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान शनिबार आपसमा भिड्दै छन् । खेल काठमाडौँको तल्लो मुलपानी मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ ।
यो खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा सहभागी अन्य तीन टोली संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र हङ्कङ चाइना भने यसअघि नै बाहिरिइसकेका छन् । नेपाल र अफगानिस्तान पुराना प्रतिद्वन्द्वी हुन् ।
जारी छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले आफ्ना सबै खेल जितेका छन् । तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । समान तीन खेलबाट ६ अंक नै बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ ।
तर, नेट रन रेटमा नेपालभन्दा अफगानिस्तान अगाडि छ । अफगानिस्तानको नेट रन रेट ४.८१७ र नेपालको नेट रन रेट ३.५७६ रहेको छ । त्यसैले शनिबार खेलिने खेलमा नेपालसँग जितको विकल्प रहने छैन । विश्वकपमा स्थान पक्का गर्न नेपालले अफगानिस्तानलाई हराउनै पर्ने हुन्छ ।
नेपालले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी यूएईलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोलीले ओमानमाथि आठ विकेटको सजिलो जित हासिल गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा हङ्कङलाई नौ विकेटले पराजित गरेको थियो ।
यसैगरी, अफगानिस्तानले पहिलो खेलमा ओमानलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा अफगानिस्तानले हङ्कङमाथि आठ विकेटको जित हात पारेको थियो । अफगानिस्तानले आफ्नो तेस्रो खेलमा भने यूएईलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ८० रनले हराएको थियो ।
शनिबारको खेलमा दुवै टोली ‘गर या मर’ को स्थितिमा रहने छन् । तर, नेट रन रेटका कारण नेपाली टोली बढी दबाबमा रहने छ । अर्कोतिर, विगत केही दिनयता काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ । नेपालका लागि यो अर्को समस्या बन्न सक्छ । त्यसैले नेपाली टोलीले निर्णायक खेलमा वर्षा बाधक नबनोस् भन्ने कामना पनि गर्नुपर्नेछ ।
जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले अब्बल प्रदर्शन गर्दै आएका छन् । यी दुवै टोलीको ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिएको छ । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अफगानिस्तानका खालिद अहमदजाई पहिलो स्थानमा छन् ।
खालिद अहमदजाईले तीन खेलमा कुल दुई सय दुई रन बनाएका छन् । यस क्रममा उनले एउटा शतक (१३२ रन) पनि प्रहार गरेका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो र तेस्रो स्थानमा भने नेपाली ब्याट्सम्यान छन् ।
यो सूचिमा दोस्रो स्थानमा आसिन नेपालका नरेन भट्टले तीन खेलमा कुल एक सय १८ रन बनाएका छन् । यस क्रममा उनले एउटा अर्धशतक (६७ रन) बनाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली ब्याट्सम्यान साहिल पटेलले पनि तीन खेलमा एक सय १८ रन बनाएका छन् ।
साहिलले एउटा अर्धशतक (४४ रन) बनाएका छन् । नेपाली ब्याट्सम्यान निरज कुमार यादव पनि लयमा देखिएका छन् । उनले तीन खेलमा कुल ८७ रन बनाएका छन् । यस क्रममा उनले एउटा अर्धशतक (६७ रन) बनाएका छन् । अफगानिस्तानका उजइरुल्लाह खानले पनि तीन खेलमा कुल ८७ रन बनाएका छन् ।
बलिङतर्फ पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा पहिलो र दोस्रो स्थानमा नेपाली खेलाडी नै छन् । नेपालका युवराज खत्रीले तीन खेलमा कुल नौ विकेट लिइसकेका छन् ।
युवराजले ओमानविरुद्ध सात ओभरमा केवल १५ रन खर्चिएर पाँच विकेट लिएका थिए । दोस्रो स्थानमा रहेका नेपाली बलर सन्तोष यादवले पनि तीन खेलमा ६ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा तेस्रो र चौथो स्थानमा भने अफगानिस्तानका खेलाडी छन् ।
अफगानिस्तानका हाफिजुल्लाह जदरानले तीन खेलमा कुल पाँच विकेट लिएका छन् । अफगानिस्तानका नुरिस्तानी ओमरजाईले पनि दुई खेलमा कुल पाँच विकेट हात पारेका छन् । नेपालका अशोक धामी र अफगानिस्तानका अफगानिस्तानका जैतुल्लाह साहिनले पनि चार–चार विकेट लिएका छन् ।
जारी छनोट प्रतियोगितामा सबैभन्दा ठुलो स्कोर बनाउने टोलीको सूचिमा पनि अफगानिस्तान र नेपाल नै पहिलो र दोस्रो स्थानमा छन् । अफगानिस्तानले यूएईविरुद्धको खेलमा निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ५९ रन बनाएको थियो ।
नेपालले पनि यूएईविरुद्धकै खेलमा निर्धारित ४० ओभरमा नौ विकेट गुमाएर दुई सय रन बनाएको थियो । वर्षाका कारण उक्त खेल ४०–४० ओभरमा खेलाइएको थियो ।
विश्वकप छनोट सुरु हुनुअघि नेपाल र अफगानिस्तानको यू–१९ टोलीबिच तीन खेलको एकदिवसीय शृंखला पनि खेलिएको थियो । त्यो शृंखला पनि मुलपानी क्रिकेट मैदानमै खेलिएको थियो । उक्त शृंखलालाई युथ एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको थियो ।
उक्त शृंखलाको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई एक सय ३० रनले हराएको थियो । दोस्रो खेलमा पनि अफगानिस्तानको टोलीले एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा भने नेपालले अफगानिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८५ रनले हराएको थियो ।
एसियाली क्षेत्रको यो छनोट प्रतियोगिताबाट अंक तालिकाको पहिलो स्थानमा रहने एक टोली सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । यू–१९ एकदिवसीय विश्वकपको १६औँ संस्करण जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वकप खेल्ने १२ वटा टोलीको टुंगो लागिसकेको छ । जिम्बाबेले आयोजक राष्ट्रका रूपमा विश्वकप खेल्नेछ । तान्जनिया भने अफ्रिकी महादेशबाट विश्वकपमा छनोट भएको हो ।
यसैगरी, साबिक विजेता अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज भने अघिल्लो संस्करणको प्रदर्शनका आधारमा विश्वकपमा छनोट भएका हुन् । अमेरिका, एसिया, पूर्वी एसिया–प्यासिफिक र युरोपबाट विश्वकपमा छनोट हुने चारवटा टोलीको भने टुङ्गो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
-
गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ