आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ

बारलाई कमजोर पार्ने अभिव्यक्ति सह्य नहुने
शनिबार, ०६ वैशाख २०८२, १९ : २७
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । नेपाल बार एसोसिएसनका नवनियुक्त अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले वकिलहरूको दलीय सदस्यता खारेजीका लागि अध्यक्षका प्रतिद्वन्द्वी रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई सर्तसहित प्रस्ताव गरेका छन् ।

शनिबार पदभार ग्रहण गर्दै उनले बारमा कहिले बालुवाटार र कहिले सत्तारुढ दलहरू लागेको भनी हल्ला फैलाइएको भन्दै आफूहरू दलीय सदस्यता खारेजीका लागि तयार रहेको बताए । 'म मेरा मित्र रमनकुमार श्रेष्ठलाई मेन्सन गरेर भन्न चाहन्छु । तपाईं राजनीति सबै वकिललाई छोडाउन चाहनुहुन्छ भने हामी एउटा प्रस्ताव राख्छौँ बार एसोसिएसनबाहेक नेपालका सबै दलीय सदस्यता र अन्य सदस्यता खारेज गर्ने र वकिलको सदस्यता नेपाल बार एसोसिएसन हो । वकिलको विधान बारको विधान हो । वकिलले गर्ने काम राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव कार्यान्वयन गर्ने,' उनले श्रेष्ठलाई चुनौती दिँदै भने, 'तपाईँ तयार हो भने भन्नुस् हामी प्रस्ताव पास गर्दिन्छौँ । हामी सबै राजनीतिबाट मुक्त हुन्छौँ ।'

गएको चैत २२ गते सम्पन्न बारको निर्वाचनमा  नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका मिश्र अध्यक्षमा विजयी भएका थिए । 

चुनावी प्रचारप्रसारका क्रममा माओवादीनिकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता श्रेष्ठले मिश्रलाई सरकारी उम्मेदवारका रूपमा टिप्पणी गरेका थिए ।

नयाँ नेतृत्वलाई सत्तानिकट दलहरूको गठबन्धनबाट निर्वाचित भएको आरोप लागेकोमा त्यसरी नहेरिदिन उनले अनुरोध गरे । उनले यसअघि पनि बारमा राजनीति हुने गरेको बताउँदै आफूलाई राजनीतिक व्यक्तिको रूपमा नहेर्न आग्रह गरे । 

'बारको निर्वाचनको दौरान हामीलाई सरकारी, बालुवाटार के के भनियो, त्यसको म खण्डन गर्छु,' उनले भने, 'बारमा राजनीति सधैँ भइआएकै छ । गणेशराज शर्मा बारमा धेरै राजनीति भयो म कहिल्यै पाइला टेक्दिनँ भन्दै हिँडेको हाम्रै आँखाले देखेको हो।'

उनले आफूहरू पूर्वाग्रही नहुने र श्रेष्ठका विचार पनि बारका एजेन्डा भएको बताए ।

'बार अध्यक्ष र पदाधिकारीका रूपमा हामीले वकिलका एजेन्डाहरू राख्नुपर्छ, ती कुरा हामी गर्छौँ । रमनजीका सबै विचारहरू हाम्रा एजेन्डा हुन् । हामी पूर्वाग्रही र सरकारी होइनौँ,' उनले भने, ' हामी शुद्ध वकिल हौँ । वकिलकै रूपमा काम गर्छौँ ।'

उनले बारका कुरा बारका फोरम र साधारण सभामा बोलिदिन आग्रह गर्दै बारको कार्यसमितिलाई कमजोर गर्ने गरी अन्तर्वार्ता नदिन पनि श्रेष्ठलाई आग्रह गरे ।

यसै गरी उनले निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा बारले लड्ने बताएका छन् । निवर्तमान अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्ति भागबण्डाका आधारमा हुने गरेको बताएपछि मानहानिको मुद्दा लगाइएको बताउँदै उनले त्यसरी मुद्दा लगाउने हो भने सर्वोच्चका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडालाई पनि लगाउनुपर्ने अभिव्यक्ति दिए । उनले यस्ता मुद्दा आगामी दिनमा आफू र अन्यलाई पनि लाग्न सक्ने भएकाले बारले प्रतिकार गर्नुपर्ने धारणा व्यक्त गरे ।

'उहाँले पत्रिकामा न्यायपरिषद् न्यायाधीश पदको दलाली गर्ने चौतारी हो भन्नुभएको छ । उहाँलाई पनि लगाउनुपर्ने हुन्छ,' उनले भने । 

अहिले पनि न्यायपालिकामा भ्रष्टाचार र विकृति कायम रहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशलाई भेटेर न्यायालय सुधारका लागि सुझाव दिने उनले बताए । 

यस्तै उनले बारलाई कमजोर पार्ने अभिव्यक्ति सह्य नहुने बताए । प्रधान न्यायाधीश र न्यायाधीशहरूले अर्को वकिलको जमात पनि राखिएको भन्ने गरेको गरिएको बताउँदै बार वकिलहरूको संगठन हो भनेर आफूहरूले प्रमाणित गर्ने बताए । 

यसै गरी उनले बार एसोसिएसनसँग छलफल नगरी न्यायाधीश नियुक्ति नगर्न पनि खबरदारी गरे । शनिबार नेपाल बार एशोसिएशनको आयोजनामा वार्षिक साधारण सभा ९२०८०/८१० तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। गत फागुन २२ गते सम्पन्न बारको निर्वाचनमा मिश्रसहितको प्यानल निर्वाचित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप