शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार

११९ जनाको जाहेरीपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर
सोमबार, ०८ वैशाख २०८२, १४ : ००
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२५, इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाको करिब साढे १४ करोड रुपैयाँ बचत रकम हिनामिना भएको छ ।

१४ करोड ४३ लाख ९ हजार ८०५ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको आरोपमा ११९ बचतकर्ताले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । रकम फिर्ता गराइदिन माग गर्दै बचतकर्ताले जाहेरी दिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २०८१ चैत २६ गते सहकारीका प्रबन्धक, अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध तिर्थराज खनालसहित ५४ जनाले १० करोड २२ लाख ४७ हजार २१७ रुपैयाँ हिनामिना र सानुहजु दैवज्ञसहित ६५ जनाले चार करोड २० लाख ६२ हजार ५८८ रुपैयाँ हिनामिना भएको भन्दै छुट्टाछुट्टै जाहेरी दिएका थिए ।

जाहेरीपश्चात् प्रहरीले सहकारीको कार्यालयमा खानतलासी गरी मुचुल्का उठाएको थियो । तर खानतलासीका क्रममा ठगी कसुर मुद्दामा प्रमाण लाग्ने दशी सामान भने फेला परेको थिएन ।

कार्यालयको चौथो तलाबाट प्रबन्धक सविना वाग्लेको क्लियरेन्स प्रदान गरिएको भन्ने पत्रसहितको राजीनामा स्वीकृत पत्र, निवेदन पत्रको प्रतिलिपि पाना चार थान, जम्मा ऋणीको कागजात प्रतिलिपि सात थान, स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदन ९४ थान, नियुक्ति पत्र दुई थानसहितका प्रमाणपत्र फेला परेको मुचुल्का प्रहरीले उठाएको थियो ।

सरकारी वकिलको कार्यालयले जाहेरवाला (बचतकर्ता)हरूलाई ठगीमा गर्ने मनसायले आश्वासन बमोजिम रकम फिर्ता नगरी रोक्का राखेको वारदात स्थापित हुन आएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । उक्त ठगी प्रकरणमा सहकारीका प्रबन्धक सविना वाग्ले, अध्यक्ष खड्कबहादुर देवकोटा, उपाध्यक्ष रामचन्द्र वाग्ले, सचिव विष्णुकुमार देवकोटा र कोषाध्यक्ष तिलमाया कार्कीलाई प्रतिवादी बनाइएको छ । यसैगरी लेखा समिति संयोजक सुनिल वाग्ले र लेखासमिति सदस्य अर्जुन राय क्षत्रीसहित सदस्यहरू जुना रायमाझी, समीक्षा अधिकारी र सुरक्षा पन्तलाई समेत प्रतिवादी बनाइएको छ । जसमध्ये प्रबन्धक वाग्ले पक्राउ परेकोमा अन्य ९ जना अझै फरार छन् ।

अभियोगपत्रमा प्रतिवादीहरूले आपसी मिलेमतोमा सहकारी ठगी गरेको, बचतकर्तालाई विभिन्न प्रलोभनमा पारी मुद्दति बचत र निक्षेप बचत रकम जम्मा गर्न लगाइ बचतकर्ताले रकम फिर्ता माग्दा फोन अफ गरी भागी फरार भएको उल्लेख गरिएको छ ।

२०७६ पुस २४ गते आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा गरी ठगी गरेर फरार आरोपितहरूले सहकारी सञ्चालन गर्न समिति बनाएका थिए । उक्त समितिको अध्यक्ष खड्कबहादुर देवकोटाले योजनाबद्ध रुपमा आफ्नै श्रीमती वाग्लेलाई प्रबन्धक बनाएको अभियोगपत्रमा उल्लेख गरिएको छ । यस्तै आफ्नै नतागोताभित्रका रामचन्द्र वाग्लेलाई उपाध्यक्ष र अन्य सदस्य समेत राखेर सञ्चालक र प्रवन्ध निर्देशकको मिलेमतोमा सर्वसाधारणको बचत ठगी गरेको आरोप छ ।

उनीहरुले आफूखुसी बचतकर्ताको खाता रकम शून्य बनाएका थिए । ठगीका क्रममा उनीहरूले व्यक्तिगत कारोबार भनी बैना कागज बमोजिम जग्गा पास गरिदिने प्रलोभन देखाएका थिए ।

सहकारी रकम अपचलनका विषयमा पीडितहरूले काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा पीडितहरूले उजुरी पनि दिएका थिए । विभागले छड्के अनुगमन गरी दिएको मिसिल संलग्न अनुगमन प्रतिवेदनमा बचतकर्तालाई प्रलोभनमा पारी ठगीको नियतले रकम हिनामिना गरेको देखिएको जिल्ला सरकारी वकिलको कार्यालयको दाबी छ ।

प्रतिवादी बनाइएका फरार प्रबन्धक वाग्लेसहित १० जनालाई नै मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा ३ (ग) बमोजिम कारबाही माग गरिएको छ ।

उनीहरूविरुद्ध आरोप पुष्टि भएमा सात वर्षसम्मको कैद र ७० हजार रुपैयाँसम्मको जरिबाना हुन सक्नेछ ।

  •  प्रबन्धक वाग्लेको प्रहरीसामु इन्कारी बयान

उक्त ठगी प्रकरणमा अध्यक्षसहित ९ जना फरार रहेकोमा प्रबन्धक वाग्ले प्रहरी हिरासतमा छिन् । उनले प्रहरीसामु इन्कारी बयान दिँदै आफू २०७५ सालमा प्रबन्धक पदमा नियुक्त भएको, २०८० मंसिर २८ मा स्वास्थ्य समस्या भई शल्यक्रिया गरेपछि माघ २३ गते राजीनामा दिएको बयान दिएकी छन् । त्यसपछि मात्रै बचतकर्ताले महानगरमा उजुरी दिएको उनको भनाइ छ ।

राजीनामा दिए पनि राजीनामा स्वीकृत नभइसकेकाले महानगरको सहकारी विभागमा २०८० चैत ४ गते भएको छलफलमा सहभागी भएको उनको भनाइ छ । उक्त छलफलमा दुई वर्षभित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको उनले बयानमा बताएकी छन् ।

आफूले दिएको राजीनामा २०८१ जेठ ४ गते स्वीकृत भएको र राजीनामा दिँदा हरहिसाब क्लियरेन्स समेत प्रदान गरिएको वाग्लेले भनेकी छन् । राजीनामा दिई सहकारीबाट छुट्टिसकेकाले त्यसपछि के–कति कारणले बचतकर्ताले उजुरी दिएको हो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।

उनीमाथि बचतकर्ता तिर्थराज खनालको रकम फिर्ता नगरेको पनि आरोप छ । उक्त विषयमा उनले खनालसँग आफूले राजीनामा दिइसकेपछि भेट भएको दाबी गरेकी छन् । २०८१ साउन १ गते खनालसँग भेट भई नवलपरासी (वर्दघाट सुस्तापूर्व)मा आफ्नो नाममा रहेको जग्गा खरिद गर्न खनालले चेक काटी ३ लाख रुपैयाँ बैना दिएको उनको भनाइ छ । तर जग्गा बैना गर्ने क्रममा रोक्का रहेकाले फुकुवा भएपछि पास गर्ने सहमति भएको बताउँदै वाग्लेले निर्धारित समयमा पास हुन नसकेको बयान दिएकी छन् । उनले खनालसँगको कारोबार सहकारीसँगको नभई व्यक्तिगत लेनदेन भएको पनि दाबी गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप