अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता

काठमाडौँ । साङ्गीतिक पलेँटीको अबको श्रृखलामा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीता अब पलेँटी अप्रिल २५ र २६ गुन्जने भएकी हुन् ।
संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय सङ्गीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।
१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता उत्साहित रहेकी छन् । पलेँटी मार्फत श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका मिल्ने भएकोले यो मञ्चले आफूलाई आनन्दित बनाउने उनले बताइन् । ‘खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म नोस्टाल्जिक बन्ने गर्छु,’उनले भनिन् ।
२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका सङ्गीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् ।
आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय सङ्गीत अथवा क्लासिकल र सेमी– क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।’
संगीता प्रधान नेपाली सङ्गीतमा लामो समयदेखि क्रियाशील कण्ठ–शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्ति निकेतनबाट शास्त्रीय सङ्गीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छन् ।
पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् ।