कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
काठमाडौँ । ‘केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको चुनौती हो यो ।
ओली यतिमा मात्र रोकिएनन् । उनले भने, ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन ।’
७६ औँ नेकपा स्थापना दिवसका अवसरमा ओलीले आफूविनाको एमालेको कल्पना कसैले गर्छ भने त्यो कुनै हालतमा पूरा नहुने जवाफ दिएका हुन् ।
ओलीले यो जवाफ पार्टीभित्र वा बाहिरकालाई दिएका हुन् भन्ने स्पष्ट छैन ।
नेकपा एमालेभित्रै ओलीका कारण वामपन्थी एकता नटिकेको तथा पार्टीभित्र गुटबन्दी मौलाएको भन्ने गुनासो सुनिँदै आएका बेला ओलीले आफ्ना विरोधीहरूलाई एकैपटक धेरैतिर लाग्नेगरी झटारो हानेका हुन् ।
एमालेभित्र र अन्य वामपन्थी पार्टीका नेताहरूले समेत ओलीको स्वास्थ्य र उमेर पाको भएकाले उनले आगामी महाधिवेशनबाट बिदा लिनुपर्ने आवाज उठाउने गरेका छन् । त्यस्ता आवाजप्रति अध्यक्ष ओलीले मंगलबार एकमुष्ट जवाफ दिएका हुन् ।
‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा एमालेकै पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गरी अध्यक्षको अभिव्यक्ति आएको हो’, एमालेका एक सचिवालय सदस्य भन्छन्, ‘स्वास्थ्य, उमेर र १५/२० वर्ष कसैले आँखा नलाए हुन्छ भन्नुको अर्थ म अझै त्यति समय एमालेको नेतृत्व छोड्दिनँ भन्ने हो । तिमीहरू नेतृत्व गर्ने भए त्यसपछि तयार रहनु भनेर सङ्केत गरेको हो ।’

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको नेतृत्वमा ओली रहँदासम्म वामपन्थी एकता हुन नसक्ने बताउँदै आएका छन् । उनीहरूले ओलीको विकल्पमा विद्या भण्डारी एमालेको नेतृत्वमा आए वामपन्थी एकता हुनसक्ने सङ्केत पनि गर्दै आएका छन् ।
अर्कोतर्फ पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने सङ्केत गरिरहेकी छन् । भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने भनेर मुख नखोले पनि उनका गतिविधिहरूले उनी एमालेको सक्रिय राजनीतिमा चाँडै फर्कनसक्ने अड्कलवाजी पार्टीका नेता कार्यकर्ताहरूले लगाइरहेका छन् ।
भण्डारीको उक्त चाहानामा प्रचण्ड र नेपालहरूले भूमिका खेलेको हुनसक्ने ओलीको बुझाइ छ ।
तर प्रचण्ड, नेपाल र भण्डारीको चाहानाविपरीत ओली आफ्नै नेतृत्वमा २०८४ को निर्वाचनमा नेकपा एमालेलाई थप बलियो र शक्तिशाली बनाउने दाबी गर्छन् । ‘एमाले अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको छ । मिसन २०८४ बाट एमाले निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउँछ’, ओलीको भनाइ छ ।
केही दिन अघिमात्र पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सीताराम बरालसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीको उमेर र स्वास्थ्य अवस्थाबारे टिप्पणी गरेकी थिइन् ।
‘अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एमालेको अध्यक्ष हुनुहुन्छ । उहाँले के सोचिरहनु भएको छ, त्यसबारेमा मैले कुरा गरेको छैन’, भण्डारीले भनेकी छन्, ‘तर, उहाँको उमेर र कतिपय स्वास्थ्य अवस्थाका कारण उहाँलाई माया, सम्मान गर्ने नेता–कार्यकर्ताहरू अबको नेतृत्व के हुने भन्ने कुराले चिन्तित छन् ।’
भण्डारीले त्यस हिसाबले एमालेपंक्ति भावी नेतृत्वको विषयमा गम्भीर छ भन्ने आफूलाई लागेकोसमेत बताएकी थिइन् ।
तर एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अध्यक्ष ओलीका अभिव्यक्ति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीतर्फ लक्षित नरहेको बताउँछन् । उक्त अभिव्यक्ति एमालेभित्र केन्द्रित नरहेको उनको दाबी छ ।
‘अध्यक्षको अभिव्यक्ति पार्टीभित्र होइन’, गौतमले भने, ‘पार्टी बाहिरबाट आइरहने केही नेताहरूको अभिव्यक्तिको जवाफ हो ।’
अर्का एमाले नेता कर्ण थापा पनि एमालेभित्र अहिले अध्यक्ष ओलीको विकल्प कसैले नखोजेको बताउँछन् ।
‘एमालेभित्र केपी ओलीविनाको एमाले कसैले पनि भनेको छैन’, थापाले रातोपाटीसँग भने, ‘उहाँ (केपी ओली) कै नेतृत्व एमाले नेता तथा कार्यकर्ताले भनिरहेका छन् ।’
- कसलाई हो ओलीको जवाफ ?
प्रचार विभाग प्रमुख गौतमका अनुसार अध्यक्ष ओलीको अभिव्यक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित हो ।
‘यो प्रचण्डजीलाई जवाफ हो । किनभने प्रचण्डजीले घरीघरी दिइरहनुहुन्छ’, गौतमले रातोपाटीसँग भने, ‘प्रचण्डले कहिले उहाँ (ओली) विनामात्र वाम एकतामा सम्भव छ भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, त्यसैको जवाफ हो ।’
गौतमले प्रचण्डले वाम एकताको कुरा गरेर बेमौसमको बाजा बजाइरहेका कारण अध्यक्ष ओलीले जवाफ दिनुपरेको बताए ।

‘कुनै छलफल नै नभएको र जरुरी नै नभएको विषयमा प्रचण्डले बोलिरहनुभएको छ’, गौतमले भने, ‘पूर्वराष्ट्रपति भण्डारीप्रति लक्षित होइन ।’
वामपन्थी एकताको चर्चा चल्दा माओवादी अध्यक्ष ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा वामपन्थी एकता सम्भव नहुने बताउँदै आएका छन् ।
पछिल्लो पटक जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमालेमा ओली रहँदासम्म वामपन्थी एकता असम्भव रहेको बताएका थिए ।
‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन’, प्रचण्डको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण