ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास गर्ने सम्झौता स्वीकृत गरेका छन् ।
- यस सम्झौताअन्तर्गत साउदी अरेबियाले भविष्यमा आफ्नै भूमिमा युरेनियम प्रशोधन गर्ने क्षमता प्राप्त गर्न सक्नेछ ।
- अमेरिकी सांसदहरू तथा विज्ञहरूले साउदीलाई युरेनियम प्रशोधनको अनुमति दिएमा यसले आणविक हतियार प्रतिस्पर्धा बढाउन सक्ने चेतावनी दिएका छन् ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास गर्ने सम्झौता स्वीकृत गरेका छन् ।
उक्त सम्झौताअन्तर्गत साउदी अरेबियाले भविष्यमा आफ्नै भूमिमा युरेनियम प्रशोधन (युरेनियम एनरिचमेन्ट) गर्ने क्षमता प्राप्त गर्न सक्ने दुई जानकार स्रोतलाई उद्धृत गर्दै एपी समाचार संस्थाले जनाएको छ । सार्वजनिक रूपमा बोल्ने अधिकार नभएका ती स्रोतहरूका अनुसार सम्झौताको औपचारिक घोषणा बुधबार नै हुन सक्ने अपेक्षा गरिएको छ ।
प्रस्तावित सम्झौता ३० वर्षका लागि हुने बताइएको छ । यसअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरेबियाको नागरिक आणविक ऊर्जा कार्यक्रम विकासमा सहकार्य गर्नेछन् । संयुक्त अमेरिकी–साउदी अध्ययनपछि साउदीमा युरेनियम प्रशोधन केन्द्र निर्माण गर्न सकिने व्यवस्था पनि सम्झौतामा समावेश हुने अपेक्षा गरिएको छ । यद्यपि यो सम्झौता अमेरिकी कंग्रेसमा समीक्षा र स्वीकृतिका लागि पेस गरिने भएकाले त्यहाँ विरोधको सामना गर्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकी सांसदहरू तथा आणविक अप्रसारसम्बन्धी विज्ञहरूले साउदीलाई युरेनियम प्रशोधनको अनुमति दिइए यसले आणविक हतियार प्रतिस्पर्धा बढाउन सक्ने चेतावनी दिएका छन् । युरेनियम प्रशोधन आफैंमा आणविक हतियार निर्माण होइन । तर यसले भविष्यमा हतियार विकास गर्ने आधार तयार पार्न सक्ने भएकाले पश्चिमी देशहरू लामो समयदेखि यसप्रति सतर्क रहँदै आएका छन् ।
आईएईएको अतिरिक्त निगरानी नहुने
साउदी अरेबिया अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सदस्य राष्ट्र हो । आईएईएले सदस्य राष्ट्रहरूको आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्रै प्रयोग भइरहेको छ कि छैन भन्ने अनुगमन गर्छ । तर स्रोतहरूका अनुसार प्रस्तावित सम्झौतामा आईएईएको ‘एडिसनल प्रोटोकल’ समावेश नहुने सम्भावना छ । यसले थप निरीक्षण, निगरानी र प्रमाणीकरणको व्यवस्था गर्छ । उक्त प्रोटोकल नरहे निरीक्षणको दायरा सीमित हुने भएकाले आलोचना हुन सक्ने बताइएको छ ।
यो सम्भावित सम्झौता अमेरिका र इजरायलले इरानविरुद्ध जारी राखेको सैन्य अभियानकै बीचमा सार्वजनिक हुन लागेको हो । अमेरिका र इजरायलले इरानको आणविक हतियार विकास क्षमतालाई रोक्न आक्रमण गरिरहेको दाबी गर्दै आएका छन् भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।
साउदीसँग नागरिक आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने प्रयास ट्रम्प प्रशासनले मात्र होइन, पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले पनि गरेको थियो । दुवै प्रशासनले अमेरिकी प्रविधि साउदीलाई उपलब्ध गराउने विषयमा छलफल अघि बढाएका थिए । गत वर्ष अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट साउदी अरेबिया पुगेका थिए । उनले साउदी समकक्षीसँग त्यहाँको नागरिक आणविक ऊर्जा उद्योग विस्तारबारे छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण