बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख

विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र आम्दानी गत वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत वर्ष यो अवधिसम्ममा चैतसम्मको आम्दानी १८ अर्ब ९३ करोड ८५ लाख थियो । चालु आर्थिक वर्षमा भने सोही अवधिमा आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको छ ।
जसमा प्रदेशलाई संघबाट राजस्व बाँडफाँड र आन्तरिक राजस्वसमेत गरी ११ अर्ब ११ करोड ५ लाख अर्थात् वार्षिक लक्ष्यको ६३.९ प्रतिशत तथा संघ अनुदानको ९ अर्ब १ करोड अर्थात् वार्षिक लक्ष्यको ६२ प्रतिशत निकासा भएको हो ।
प्रदेशलाई संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने (भ्याट, अन्तशुल्क र रोयल्टी) रकम ११ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७७ करोड ८ लाख भएको छ ।
यस्तै प्रदेशको आन्तरिक राजस्व गत वर्षभन्दा २४.५ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३३ करोड ९७ लाख पुगेको छ । आन्तरिक राजस्वतर्फ सवारी साधन कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, अनुमति पत्र, यातायात क्षेत्रको आम्दानी, स्थानीय तहबाट प्राप्त राजस्व, अनुदान/निकासा फिर्ता, बेरुजु, अन्य शुल्क, दस्तुर, जरिमाना तथा व्यवसाय रजिस्ट्रेसन दस्तुर असुलीमा वृद्धि भएको हो ।
यस्तै वित्तीय समानीकरण अनुदान २९.९ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ६८ लाख तथा विशेष अनुदान १३.७ प्रतिशत वृद्धि हुँदै ४ अर्ब ५७ करोड ८ लाख आम्दानी भएको छ । प्रदेशले पाउने समपूरक अनुदान भने १०.३ प्रतिशतले घटेर ४ अर्ब ३२ करोड ३ लाख र सशर्त अनुदान ४९.३ प्रतिशतले घटेर १ अर्ब ७६ करोड ३१ लाख आम्दानी भएको छ ।
कोशी प्रदेशले समग्र आम्दानी गर्ने वार्षिक लक्ष्य भने ३१ अर्ब ९२ करोड ३४ लाख रहेको छ । नगद मौज्दात ३ अर्ब २५ करोड र वैदेशिक अनुदानको सोझै भुक्तानी १० करोड ५९ लाख गरी चालु आर्थिक वर्षको कुल बजेट भने ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको रहेको छ ।
प्रदेशको हालसम्मको खर्च पनि गत वर्षको तुलनामा ६.१ प्रतिशतले वृद्धि भएको छ ।
हालसम्म प्रदेशले ४१.१ प्रतिशत अर्थात् १४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ जम्मा खर्च गरेको छ । जसमा चालु तर्फ ४५.७ प्रतिशत अर्थात् ६ अर्ब ९ करोड २२ लाख, पूँजीगततर्फ ३२.५ प्रतिशत अर्थात् ५ अर्ब ६० करोड ९४ लाख र स्थानीय तह अनुदानतर्फ ६०.२ प्रतिशत अर्थात् २ अर्ब ७९ करोड १४ लाख रहेको छ ।
गत वर्ष यही अवधिमा जम्मा खर्चको प्रतिशत ३७.१ प्रतिशत मात्रै थियो । प्रदेशको सञ्चीत खातामा ५ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण